नेपाल उद्योग परिसंघले नेपाललाई युरोपियन युनियन (इयु) को उड्डयन सुरक्षा सूचीबाट हटाउन आवश्यक पहल गर्न पर्यटनमन्त्री सुदन किरातीलाई अनुरोध गरेको छ।
परिसंघले नेपालको पर्यटन उद्योगका विषयमा छलफल गर्ने क्रममा मंगलबार यस्तो आग्रह गरेको हो।
मन्त्री किरातीसँग परिसंघले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, इयुले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहल सहित तत्कालीन एवम् दीर्घकालीन नीतिगत सुधारका विषयमा पनि छलफल गरेको हो।
पर्यटन मन्त्रालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवम् निजी क्षेत्रबीच समन्वय र सहकार्य हुनुपर्ने बताए।
उनले युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्न प्रभावकारी रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।
युरोपका पर्यटक धेरै खर्चालुमा पर्ने भएकाले इयुको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उनले जोड दिए।
परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको जानकारी गराउँदै अध्यक्ष अग्रवालले निजी क्षेत्रतर्फ परिसंघ मन्त्रालयसँग नजिकमा रहेर काम गर्न प्रतिबद्ध रहेको प्रष्ट पारे।
त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल सञ्चालनका लागि हवाइ रूट अभावमा चुनौती देखा परेको सन्दर्भमा परिसंघले मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
छलफलमा पर्यटनमन्त्री किरातीले नेपाललाई इयुको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको र छिट्टै सकारात्मक समाचार आउन सक्ने बताए। इयुसँग पुनः सिधा हवाइ सम्पर्क स्थापित गर्न सरकार कठोर रूपमा अगाडि बढ्ने विश्वास दिलाए।
किरातीले नेपाल महँगो गन्तव्य भइरहेको अवस्थामा हवाइ टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट)लगाउने कुरामा आफ्नो असहमति रहेको समेत जानकारी दिए।
नेपालका दुर्गम स्थानमा सेवा प्रवाह गर्न ट्रंक रूटका लागि केही जहाज र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी जहाज खरिद गर्ने तयारी गरिरहेको मन्त्री किराँतीले बताए।
उनले पर्यटन उद्योगको विकासका लागि परिसंघसँग मिलेर काम गर्ने बताए। छलफलमा परिसंघ उपाध्यक्ष राजबहादुर शाह, पर्यटन समिति सभापति पम्फा धमला, महानिर्देशक दीपकराज जोशीलगायत उपस्थित थिए।