कर्णालीका पर्यटन व्यवसायीहरूले मौसम अनुकूल रहेसम्म नियमित उडान गर्न माग गरेका छन्।
कर्णाली पर्यटन उद्यमी समाजले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणसँग नियमित उडानको माग गरेका हुन्।
प्राधिकरणले गत मंगलबार 'अपरेसन आवर' को समयभन्दा बाहेकका अतिरिक्त समयमा उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको थियो।
बिहानको ६:४५ बजेदेखि दिउँसो १२ बजेसम्मलाई अपरेसन आवर मानिने र यसभन्दा पछि दिनभर उडान नहुँदा कर्णालीमा हवाइ सेवा सञ्चालन भए/नभएको कुनै अर्थ नहुने व्यवसायीहरूले बताएका छन्। उक्त निर्णय सच्याउनुपर्ने र नियमित उडान हुनुपर्ने भन्दै उनीहरूले प्राधिकरणसँग अनुरोध गरेका छन्।
'प्राधिकरणले बनाएको नियम मान्नुपर्छ। तर मौसम उपयुक्त छ भने किन उडान गर्न नदिने,' कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले भने।
कर्णालीमा हवाइ यात्राबाहेक अरू विकल्प नभएका कारण दिउँसो १२ बजेअघि मात्र उडान हुँदा कर्णालीका जनता प्रत्यक्ष रूपमा मारमा पर्ने उनले बताए। प्राधिकरणको यस्तो निर्णयले कर्णालीको पर्यटन क्षेत्रमा मात्र नभइ खाद्यान्न ओसारपसार लगायत विभिन्न क्षेत्रमा पनि मारमा पर्ने व्यवसायीहरूको भनाइ छ।
साथै समाजले हिल्सा नाका यथावत अवस्थामा सञ्चालन ल्याउन पहल गरेको छ। बैठकले हिल्सा नाकालाई कोरोना अघिकै अवस्थामा सञ्चालनमा ल्याउन सरकारलाई कूटनीतिक पहल गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
अध्यक्ष रोकायाको अध्यक्षतामा बसेको बैठकले नाका सञ्चालनमा ल्याउन पहल गर्ने सहितका कर्णालीको पर्यटनसँग सम्बन्धित पाँचवटा निर्णय गरेको छ।
उडान अनुमतिका लागि प्राधिकरण कार्यालय नेपालगञ्जबाट पनि लिन सकिने प्रबन्ध मिलाउने निर्णय गरेको छ।
हाल वायुसेवा कम्पनीहरूले अफसिजनमा कर्णाली र सिजनमा अन्य क्षेत्रमा उडान गर्ने गरेका छन्। वर्षभर नै कर्णालीमा उडान गर्न वायुसेवा कम्पनीले कम्तीमा एउटा जहाज कर्णालीमा उडानको व्यवस्था मिलाउनुपर्ने समेतका निर्णय आजको बैठकले गरेको छ।
हाल कर्णाली प्रदेश सहितका दुर्गम क्षेत्रमा सीता, समिट र तारा एयरलाइन्सले उडान गरिरहेका छन्।