पोखराका व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न माग राखेका छन्।
विमानस्थल संचालनमा आएको ६ महिना बित्दा एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको भन्दै व्यवसायीले उक्त माग राखेका हुन्।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बिहीबार पत्रकार भेटघाटमार्फत विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न दबाब दिन समिति गठन गर्न लागेको बताए।
‘हामीले छिट्टै एउटा समिति गठन गरेर विमानस्थल संचालन गर्न सरकारलाई दबाब दिने कार्यक्रम बनाउँदैछौं,’ उनले भने, ‘विमानस्थल कि चलाऊ, कि बन्द गर।’
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकारले कुनै पहलकदमी नलिएको भन्दै उनले दबाबमुलक कार्यक्रम अघि बढाउने बताए।
विमानस्थलबाट अहिले आन्तरिक उडान मात्र भइरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान पनि महँगो भएको भन्दै उनले अन्तर्राष्ट्रिय उडान नहुँदासम्म दबाबमुलक कार्यक्रम नछाड्ने बताए।
‘हिजो विमानस्थल बनाउने बेलामा पनि हामीले आन्दोलन गरेर बनाइएको हो, अब चलाउन पनि हामी आन्दोलनमा जानुपर्ने अवस्था छ,’ उनले भने, ‘विमानस्थल संचालनको कुरा हाम्रो इज्जतको कुरा पनि हो।’
विमानस्थल बनाउन २०६६ सालमा पोखराको उद्योगी, व्यवसायी र सर्वसाधारणले आन्दोलन गरेका थिए। तत्कालीन पश्चिमाञ्चल होटल संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा विमानस्थल बनाउन धर्ना, जुलुस र रिले अनसनका कार्यक्रम गरेका थिए। त्यतिबेला रिले अनसनमा २ हजार ४०२ जना सहभागी भएको पालिखेले बताए।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३० सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले २०३२ सालमा ३ हजार १५० रोपनी जग्गा अधिग्रहण गरेका थिए। त्यसपछि पटक पटक गरी थप ९ सय रोपनी जग्गा अधिग्रहण गरेर हाल ३ हजार ८९९ रोपनी जमिनमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ।
अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गरेको झण्डै ५० वर्षपछि मात्र विमानस्थल निर्माण भएको हो। विमानस्थल निर्माण भएर संचालनमा आएको ६ महिना पुरा हुँदासमेत अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। विमानस्थलका लागि अधिग्रहण गरेको जमिन २०७४ सालसम्म गौचरणमा परिणत भएको थियो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानका रूपमा चीनको सिचुआन एयरलाइन्सको विमान गत असार ६ गते अवतरण भएको थियो। फेवातालमा आयोजित ड्रागन बोट रेसमा सहभागी हुन आएका खेलाडी र केही नेपालीलाई लिएर उक्त विमान पोखरा अवतरण गरेको थियो। चीन सरकारकै खर्चमा चार्टर्ड उडानका रूपमा उक्त विमान पोखरा आए पनि त्यसपछि कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।
विमानस्थल निर्माण गर्न आन्दोलनको नेतृत्व गरेका पालिखेले सरकारले छिमेकी देशहरू र एयरलाइन्स कम्पनीसँग सहकार्य गर्न नसकेको बताए।
‘सरकारले पोखरा विमानस्थल चलाउन विभिन्न देशसँग कुटनीतिक पहल गर्नुपर्थ्यो, एयरलाइन्सहरूसँग लविङ गर्नुपर्थ्यो, त्यस्तो देखिएन,’ उनले भने, ‘विमानस्थल निर्माणदेखि नै सरकारले तयारी नगर्दा अहिलेको हाल भएको हो।’