मुलुकमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले ट्रेकिङ गाइड तालिम लिएका छन्।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रूपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ट्रेकिङ गाइड तालिममा २५ जनाको सहभागिता थियो
यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि आयोजना गरिएको उक्त तालिम ३५ दिनसम्म सञ्चालन गरिएको थियो।
तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि सञ्चालित यो कार्यक्रम आफैँमा ठूलो सन्देश भएको बताए।
समाजमा हरेक खालका मानिसहरूका लागि रोजगारी आवश्यक रहेको बताउँदै मन्त्री किरातीले यो तालिमले एलजिविटिआइक्यू समूहका सदस्यहरूलाई पर्यटन क्षेत्रमा काम गर्न तथा स्वरोजगार बन्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
'यो हेर्दा सानो काम देखिन सक्छ तर यसले दिने सन्देश ठूलो छ। यसबाट हामीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि यी समूहका सदस्हरूलाई नेपाल आउन सहयोग पुग्नेछ,' उनले भने।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपालका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले अल्पसंख्यकहरूलाई समाजको मूल प्रवाहमा ल्याउन अझै पनि ठूलो चुनौती रहेको अवस्थामा याे तालिमले सो समूहको जिविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताइन्।
नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै विश्वमा रहेको एलजिविटिआइक्यू समूहका सदस्यहरूलाई नेपालमा आकर्षित गर्न पनि यो तालिम कोशेढुङ्गा सावित हुने बताए।
तालिममा सहभागी शुलभ मोक्तानले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि आयोजना गरेको तालिमले आफूहरूमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको बताए।