नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको मौजुदा समस्या सम्बोधन गर्न नसकेको होटल संघ नेपालले जनाएको छ।
कोभिड–१९ रूस र युक्रेनको युद्धबाट चरम आर्थिक मन्दीको मारमा परेको होटल तथा पर्यटन क्षेत्रलाई मौद्रिक नीतिबाट पुनर्कर्जा, पुनर्तालिकीकरण जस्ता मौद्रिक उपायहरूका साथै कम ब्याजदरको व्यवस्थाबाट यस क्षेत्रको जर्गेना गर्न होटल संघ नेपालले पहल गरेको हो।
चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले पर्यटक संख्या बढेको जनाउँदै आर्थिक गतिविधि समेत बढेको देखिए थपिँदै गएको तारे लगायतका होटलहरूको कुल क्षमताको एक तिहाई भन्दा पनि कम क्षमता उपयोग भई सञ्चालनमा समेत घाटा रहेको अवस्था छ।
होटलहरूले बैंकलाई नियमित बुझाउनुपर्ने साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको जनाउँदै गत आर्थिक वर्षको पछिल्लो ३ महिनाको मौद्रिक नीतिको समीक्षाले तिर्नु बुझाउनु पर्ने साँवा ब्याजलाई पुनर्कर्जा तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो। तर, हालको मौद्रिक नीतिमा यस्ता थप कुनै व्यवस्था नभएको हुँदा होटल तथा पर्यटन क्षेत्र अलमलमा परेको संघले जनाएको छ।
मुलुकमा विश्व विख्यात होटल ब्रान्डहरू भित्रिने क्रम बढिरहेको छ। तर मौजुदा मौद्रिक नीतिले यथेष्ट प्रोत्साहित गर्न सकेको छैन।
संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ग्राहक पर्यटकका लागि उपयोग गर्ने तरकारी लगायतका कच्चा पदार्थमा लगाइएको कर र विलासिलाका नाममा लिइएको करबाट पनि मुलुकमा पर्यटन अभिवृद्धि गर्न अप्ठ्यारो परेको बताएको छ।
यस्तो परिप्रेक्ष्यमा केन्द्रीय बैंकले लगानी आकर्षित गर्न र लगानी भइसकेका होटलहरूलाई प्रोत्साहन गर्न मौद्रिक नीतिको कार्यान्वयनमा आउने निर्देशिकाले उपयुक्त ढंगबाट यथेष्ट रूपमा सम्बोधन गरी होटल क्षेत्रलाई स्थायित्व प्रदान गर्ने संघले विश्वास लिएको छ।
राज्यले घोषणा गरेको सन् २०२३ मा १० लाख पर्यटन, सन् २०२५ लाई विशेष पर्यटन वर्ष र पर्यटक दशकको कार्यक्रमहरू सफल बनाउन यस किसिमको आर्थिक मौद्रिक नीतिले सम्बोधन गरी लगानीकर्तालाई प्रोत्साहित गर्दै अर्थतन्त्र चलायमान बनाउने गरी निर्देशिका आउने संघको अपेक्षा रहेको अध्यक्ष विनायक शाहले बताए।