बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना नेपाली सहित विभिन्न ८ भाषामा तयार भएको छ।
गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना विभिन्न भाषामा तयार पारिएको हो। ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा क्युआर स्क्यान गरी पढ्न तथा सुन्न सकिने भएको छ।
बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको गाउँपालिका प्रमुख सुरेन्द्र थापाले बताए।
मंगलबार बन्दीपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा एक समारोहका बीच मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सूचना गाउँपालिका अध्यक्ष थापालाई हस्तान्तरण गरेका हुन्। गन्तव्यबारे जानकारीहरू नेपाली, अंग्रेजी, हिन्दी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च, स्पेनिस लगायतका भाषामा तयार पारिएको छ।
बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्म पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक-फरक भाषामा तयार भएको हो।