नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले अब जहाजभित्रै पसल राख्न पाउने भएका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाजमा पसल सञ्चालनका लागि सहजीकरण गर्न 'अनबोर्ड ड्युटी पेड स्टोर सञ्चालनसम्बन्धी कार्यविधि, २०७९' जारी गरेको हो। यससँगै अब जहाजमा पसल राख्ने बाटो खुलेको छ।
हाल नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।
मन्त्रालयले नेपालका अन्तर्राष्ट्रिय एयरलाइन्सलाई उडानका क्रममा जहाजभित्र पसल सञ्चालन गर्न सहजीकरण गर्दै वायुसेवाको अतिरिक्त आम्दानीमा वृद्धि गराई वायुसेवालाई थप सबल, सुदृढ र दिगो बनाउनका लागि राजस्व संकलन तथा विदेशी मुद्रा आर्जनमा टेवा पुर्याउने उद्देश्यले पसल सञ्चालनका लागि आवश्यक अनुमति प्रदान र सञ्चालन कार्य व्यवस्थित गर्न आवश्यकता भएको उल्लेख गरेको छ।
कार्यविधि अनुसार जहाजभित्र पसल सञ्चालन गर्न चाहने एयरलाइन्सले पर्यटन मन्त्रालयबाट अनुमति लिनुपर्ने छ। अनुमतिका लागि मन्त्रालयमा सेवा सञ्चालनको आर्थिक, प्राविधिक सम्भाव्यतासहित निवेदन दिनु पर्नेछ।
निवेदनमा खरिद गरिने सामग्री विक्रेता छनाेट प्रक्रिया, सामग्री खरिद र गुणस्तर कायम गर्न अवलम्बन गर्ने प्रक्रिया, बिक्रीपछि भुक्तानीका उपाय र सुरक्षाका उपाय उल्लेख गर्नुपर्ने छ।
त्यस्तै, वायुसेवा कम्पनीले बिक्री गर्ने सामग्रीको गुणस्तर सुनिश्चित हुनुपर्ने, बिक्रीपछि यात्रुलाई आधिकारिक बिल जारी गर्नुपर्ने, प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्ने, विवरण अद्यावधिक राख्नुपर्ने, सेवा सञ्चालनको प्रगति विवरण त्रैमासिक रूपमा मन्त्रालयमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
विमानस्थल सेवाशुल्क नियमावली २०७८ को पूर्ण पालना गर्नुपर्ने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) सेक्युरिटी म्यानुअल, फ्लाइट अप्रेसन र क्याबिन क्रु म्यानुअल पूर्ण पालना गर्नुपर्नेछ ।