हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वका लागि एनडीए–नेपाल अर्थोपेडिक अस्पतालसँग सहकार्य गरेको छ।
आइतबार एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाश कुमार भण्डारीलाई दुई टनको 'स्ट्यान्डिङ एयर कन्डिसनर' हस्तान्तरण गरेका हुन्।
अस्पताल परिसरमा आयोजित हस्तान्तरण समारोहपछि एयरलान्सका अध्यक्ष झोउ एन्योङ्गले सगरमाथा जनरल वार्डको भ्रमण गरे।
'हिमालय एयरलाइन्सको लक्ष्य नेपालको उड्डयन क्षेत्रमा प्रगतिशील वृद्धि गर्ने मात्रै नभई सामाजिक उत्तरदायित्व प्रतिको जिम्मेवारीलाई पूरा गर्न सक्दो प्रयास गर्ने योजना पनि राखेको छ,' एन्योङ्गले भने, 'आशा गर्छु कि हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचोमा परेका मानिसहरूको सेवा गर्ने प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ।'
अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ। जहाँ खाँचोमा परेका बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन्। वार्डले कम आर्थिक अवस्था भएका बिरामीहरूलाई सेवा दिन्छ।
नेपाल अपाङ्ग संघका पदाधिकारीहरूद्वारा हेरचाह गर्ने बालबालिकाको अनाथ आश्रमलाई सहयोग गर्न एयरलाइन्सको इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केही अंश सामाजिक उत्तरदायित्वको लागि योगदान गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै डा. कैलाश कुमार भण्डारीले हिमालयको मानवीय र उदार कार्यको प्रशंसा गरे।
हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो।
एयरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्। एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ।