केही दिनदेखि ग्राउन्डेड रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मर्मतपछि आज साँझबाट नियमित उडानमा आउने भएको छ।
निगमका अनुसार '९एन–एकेडब्लु' जहाज मर्मतपछि नियमित उडान गर्न लागेको हो। प्रवक्ता रमेश पौडेलका अनुसार उक्त जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो।
निगमको अर्को न्यारोबडी '९एन–एकेएक्स' जहाजको पनि बायाँ इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड गरिएको छ। यसअघि जहाजमा चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण निगमको दुवै न्यारोबडी जहाज ग्राउन्डेड भएका थिए।
जहाज नियमित मर्मतसम्भार र इन्स्पेक्सन गर्ने क्रममा जहाजको दायाँ इन्जिनमा समस्या देखिएकाले मर्मत भइसकेको र उक्त जहाज सोमबार बेलुकीबाट नियमित उडानमा पठाउने प्रवक्ता पौडेलले सेतोपाटीलाई बताए।
अर्को जहाज '९एन–एकेएक्स'को नियमित जाँच गर्दा बायाँ इञ्जिनको 'हाई प्रेसर टर्बाइन ट्रेलिङ एज' मा समस्या देखिएकाले 'एप्रुभ मेनुअल' र निर्माता कम्पनीको सुझावअनुसार १० साइकल मात्र उडान गर्न सकिने भएकाले उक्त जहाज ग्राउन्डेड गरिएको र यथाशीघ्र इन्जिन मर्मत गराउने प्रक्रिया अघि बढाउने निगमले प्रेस विज्ञप्तिमार्फत बताएको छ।
नियमित मर्मत हुँदा पनि निगमसँग भएका दुई न्यारोबडी ए ३२० जहाजमा एकै समयमा चरा ठोक्किएका कारण प्राविधिक समस्या आई ग्राउन्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडान सञ्चालन राखिएको विज्ञप्तिमा उल्लेख छ।