आज (सोमबार)देखि आन्तरिक उडानतर्फको भाडादरमा पनि मूल्य अभिवृद्धि कर लागेको छ। आर्थिक ऐन २०८० को व्यवस्था अनुसार हवाइ भाडामा मूल्य अभिवृद्धि कार्यान्वयनमा ल्याइएको हो।
कर कार्यान्वयनको सहजीकरणको लागि आन्तरिक राजस्व विभागले ११ सुझाव दिएको छ। यस्ता छन् सुझावहरूः
१. हवाइ यातायात सेवामा आर्थिक ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकोले कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्दछ।
२. हवाइ यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ताको लागि दरखास्त दिनु पर्नेछ। विदेशी हवाइ यातायात सेवा प्रदायकले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपि समेत सलग्न गर्नु पर्नेछ।
३. दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको वा दिनुपर्ने कर दर्ता हुनुभन्दा एक वर्ष अघिसम्मको कट्टी गर्न पाउनेछ। यस्तो कर कट्टी दाबी गर्नको लागि दर्ता भएको १५ दिनभित्र मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को अनुसूची–१६ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
४. हवाइ यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १२ बमोजिम मूल्य अभिवृद्धि कर बाहेकको कर लाग्ने मूल्यमा बीजक जारी गर्नु पर्नेछ। ट्राभल एजेन्सी व्यवसाय सञ्चालन गर्ने व्यक्तिले हवाइ सेवा प्रदायकबाट टिकट खरिदमा तिरेको मूल्यमा आफ्नो मुनाफा या कमिसन जोडी हुन आउने मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्न बीजक जारी गर्नु पर्नेछ।
हवाइ सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरेमा सोही मूल्यमा ट्राभल एजेन्सीले उपभोक्तालाई बीजक जारी गर्नु पर्नेछ। हवाइ यातायात सेवा प्रदायकबाट प्राप्त गर्ने सेवा शुल्क वा कमिसन रकममा प्रदायकको नाममा ट्राभल एजेन्सीले बीजक जारी गर्नु पर्नेछ।
५. आन्तरिक हवाइ सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाइ टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ। अन्तर्राष्ट्रिय हवाइ यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्य स्थानसम्मको हवाइ टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ।
त्यस्तो अन्तर्राष्ट्रिय उडानको हवाइ टिकट नेपालभित्र वा बाहिर जहाँ सुकैबाट जुनसुकै माध्यमबाट जारी वा खरिद गरे पनि हवाइ यातायात सेवा प्रदायक (एयरलाइन्स कम्पनी)ले सो हवाइ टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ।
६. दुबै तर्फको हवाइ टिकट जारी गर्दाको हकमा विदेशबाट नेपाल आउँदाको टिकट मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्ने छैन। नेपालबाट प्रस्थान नहुने तर नेपालमा दर्ता भएका व्यक्तिले हवाइ टिकट जारी गरेको हकमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्ने छैन।
७. अन्तर्राष्ट्रिय हवाइ सेवा सञ्चालन गर्ने व्यक्तिले विद्युतीय बीजक जारी गर्न स्वीकृति लिनुपर्ने छैन। तर विद्युतीय बीजक जारी गर्न प्रयोग गरेको सफ्टवेयरको जानकारी सम्बन्धित कार्यालयमा दिनु पर्नेछ।
८. हवाइ टिकट बिक्रीमा संकलन गरेको करमा व्यवसायसँग सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा नेपालमा तिरेको कर घटाइ बाँकी कर र सोको विवरण महिना समाप्त भएको २५ दिनभित्र दाखिल गर्नु पर्दछ। तर वार्षिक एक करोड रुपैयाँभन्दा कमको कारोबार गर्ने व्यक्तिले चाहेमा चौमासिक रूपमा कर र सोको विवरण दाखिल गर्न सक्नेछ।
९. मूल्य अभिवृद्धि कर लागू हुनुभन्दा पहिला हवाइ टिकट बिक्री भएको तर मूल्य अभिवृद्धि कर लागू भए पछिको मितिमा यात्रा गर्नेको हकमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्ने छैन। तर त्यस्तो विवरण सम्बन्धित कार्यालयमा दिनु पर्नेछ।
१०. बिक्री भएको हवाइ टिकट रद्द भई यात्रुले रकम फिर्ता पाउने भएमा बिक्री फिर्तामा देखाई हिसाब मिलान गर्नुपर्दछ। कुनै कारणबस खरिद भएका हवाइ टिकट फिर्ता गर्नुपर्ने भएमा खरिद फिर्तामा देखाई हिसाब मिलान गर्नुपर्दछ। हिसाब मिलान प्रयोजनका लागि मूल्य अभिवृद्धि कर नियमावली, २०५३ बमोजिम डेबिट र क्रेडिट नोट जारी गर्नुपर्दछ।
११. हवाइ यातायात सेवामा लाग्ने मूल्य अभिवृद्धि कर सम्बन्धमा मूल्य अभिवृद्धि कर ऐन, २०५२, मूल्य अभिवृद्धि कर नियमावली, २०५३ र मूल्य अभिवृद्धि कर निर्देशिका, २०६९ मा भएका प्रावधान आकर्षित हुनेछन्।