हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ सुरू गरेको छ। एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आइबिई) सेवा सुरू गरेको हो।
यसबाट ग्राहकले डेस्कटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार हिमालयको वेबसाइट मा गएर टिकट बुकिङ गर्न सक्ने एयरलाइन्सले जनाएको छ।
कम्पनीका अनुसार यो सुविधा प्रयोग गरेपछि यात्रुहरूलाई विभिन्न गन्तव्यसँग जोडिन सहज हुनेछ।
यो सेवा सुरुवातमा ग्राहकले टिकट खरिदका लागि इ–सेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन्।
युनियन पे र कनेक्ट आइपिएस छिट्टै उपलब्ध हुने एयरलाइन्सले जनाएको छ।
हिमालयले ब्यागेज प्रि–बुकिङ, सिट र खाना छनौट, लाउन्ज सेवा बुकिङ, संयुक्त सेवा चयन गर्ने जस्ता सेवा पनि ल्याएको छ। यात्रुले विमानस्थलमा समय बचत गर्न अनलाइन चेक–इन पनि गर्न सक्नेछन्।
‘हाम्रा ग्राहक हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौं,' एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, 'त्यसैले अनलाइन टिकटका लागि सरल, छिटो–छरितो र अधिक सुविधायुक्त इन्टरनेट बुकिङ इन्जिन सेवा घोषणा गर्न पाउँदा खुसी छौं।'