मकवानपुर थाहा नगरका स्थानीयले पर्यटन प्रवर्द्धनका लागि 'पालुङ–आग्रा ट्रेकिङ रूट'को विकास गरेका छन्।
ट्रेकिङमा रूची राख्नेहरूका लागि यो रूट नयाँ हो। काठमाडौंबाट नौबिसे हुँदै सडक दुरीमा ६५ किलोमिटर, चित्लाङ–थानकोट हुँदै करिब ३५ किलोमिटर र हेटौंडाबाट ६५ किलो मिटरको दुरीमा थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट पुगिन्छ।
यो ट्रेकिङ रूटको शुरूवात साविक दामन गाउँ विकास समितिको शिखरकोटबाटै सुरू हुन्छ। अधिकांश भू–भाग पालुङ र आग्रा क्षेत्रमा पर्ने भएकोले 'पालुङ–आग्रा ट्रेकिङ रुट' भनिएको हो।
यो यात्रामा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक यात्रा हुने भएकोले अन्य ट्रेकिङमा भन्दा फरक हुने नगरपालिकाले जनाएको छ।
यात्राको क्रममा हुने परिवर्तित मौसम यहाँको अर्को विशेषता हो।
ट्रेकिङको शुरूवातमै थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको शालिक र उनको जीवनीबाट सुरू हुन्छ। शिखरकोट नजिकै रहेको विकास घरको आँगनमा उनको पूर्ण कदको शालिक छ। थाहा आन्दोलनको अनुसन्धानकै धरोहर रुपचन्द्र विष्टले बनाएको विकास घर शालिककै आडमा छ।
शिखरकोटबाट करिब २ किलोमिटरको पैदलयात्रापछि पालुङको पाण्डुकेश्वर मन्दिर पुगिन्छ। पाण्डुकेश्वर पुग्नु अघि थाहा वडा-३ डाडाँगाउमा अवस्थित गोरखनाथ मन्दिर छुटाउनै नहुने क्षेत्र हो। यहि ट्रेकिङ रूटमा पर्ने गोरखनाथ धार्मिक आस्थाको केन्द्र पनि हो।
बाटोमा ऐतिहासिक बस्ती गोपाली गाउँ, रुपचन्द्र विष्ट प्रधानाध्यापक समेत भएर पढाएको जनकल्यण मावि, विश्वका ३ शंखमुल मध्येको एक पालुङ शंखमुल यस यात्राका थप आकर्षण हुन्। साथमा हरियालीपूर्ण तरकारी खेती देखिन्छ।
ऐतिहासिक पाण्डुकेश्वर परिसर नजिकैको भद्रतीर्थ र पालुङको ऐतिहासिक नेवारी बस्ती 'पालुङ सहर' हुँदै पाथिभरा मन्दिर नजिकै पर्यटकहरूलाई स्वागत गर्ने पालुङकै पहिलो 'डाँडाघरे बा को होमस्टे' छ। होमस्टे मौलिकता देख्न पाइन्छ।
पालुङको पाथीभरा हुँदै 'पालुङ–आग्रा' पैदल मार्ग अघि बढ्छ।
यो रूटमा तामाङ संस्कृति देख्न सकिन्छ। मेला र विभिन्न अवसरमा पालुङका 'महिला नौमती बाजा समूह'ले बाजा बजाएर पर्यटकहरूलाई स्वागत पनि गर्छन्।
यो रूटमा पालुङको ऐतिहासिक भग्नावशेष पालुङ गढी हुँदै भकारी ढुंगासम्मको यात्रा निकै उत्साहजनक छ। जंगलको यात्रा भएकोले विभिन्न वनस्पती र चराचुरुङ्गीको आवाजसँगै यात्रा गर्न पाइन्छ।
डाँडै डाँडाको यात्रामा खुलेको पालुङ फाँट र झुरुप्प परेको वस्ती, मौलिक परम्परा यहाँको विशेषता हो। यहि यात्रामा करिब २ हजार तीन सय मिटरको उचाइमा रहेको केशरी भन्ज्याङ छ। भन्ज्याङबाट चन्द्रागिरी भन्ज्याङदेखि वरको फाँट र गाउँहरू अवलोकन गर्न सकिन्छ।
यो यात्रा गर्दै गर्दा आग्राको उनीउ चौर 'ट्रेकिङ रूट'को मुटु हो।
यहाँबाट डाँडाबास, कैलाश गाउँपालिका क्षेत्र र धादिङका केहि पालिकाहरू समेत देखिन्छ। यससँगै 'पालुङ–आग्रा' ट्रेकिङ सकिन्छ। यसको दुरी लगभग १४ किलोमिटर रहेको छ। यो गन्तव्य यात्रालाई थप जोड्न पनि सकिन्छ। तर एकदिने ट्रेकिङका लागि यो यात्रा रूट उपयुक्त छ।
फर्कदा डाँडाबास सडकबाट सवारी साधनमा वा पैदल नै पनि दामन घर्तीखोलाको दमार हुँदै पुनः शिखरकोट आइपुगिन्छ।