सोलुखुम्बुबाट काठमाडौं आउँदा मंगलबार बिहान सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको छ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले वडा नम्बर ५ लामजुराडाँडामा हेलिकप्टर दुर्घटना भएको खबर आएको बताइन्।
‘त्यहाँ होटल चलाउने एक जनाले फोन गरेर हेलिकप्टर दुर्घटनामा परेको बताउनु भएको छ,’ उनले सेतोपाटीसँग भनिन्,‘हेलिकप्टर क्षतविक्षत छ भन्ने छ। विस्तृत विवरण आएको छैन।’
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको सेतोपाटीलाई जानकारी दिए।
‘लामाजुरा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। कुहिरो लागेकोले हेलिकप्टरबाट खोजी गर्न अहिले असम्भव भयो, प्रहरीहरू केही माथिसम्म मोटरसाइकलमा र त्यसपछि हिँडेर त्यसतर्फ जाँदैछन्,’ उनले भने।
आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।
हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट चेतबहादुर गुरूङ रहेको प्रजिअ भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको उनले बताए।