संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन्।
पर्यटन मन्त्री सुदन किरातीले सोधेको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको हो।
मन्त्रालयले बिहीबार दोस्रो पटकको जवाफ तीन दिनभित्र माग्दै पत्र पठाएको हो।
'मन्त्रालयको असार ११ गतेको पत्रबाट तपाईंबाट सम्पादित कार्यसँग सम्बन्धित ९ बुँदाका विषयमा सात दिनभित्र जवाफ सहितको विवरण पेश गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) निर्णयबाट लेखि पठाएको निर्धारित समय सीमाभित्र तपाईंबाट स्पष्ट जवाफसहितको विवरण पेश हुन नआएकाले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो?' भन्दै पत्र पठाएको छ।
साथै तोकिएको समयमा स्पष्टीकरण नपठाए मन्त्री परिषदको निर्णयअनुसार कानुनबमोजिम अघि बढ्ने उक्त पत्रमा उल्लेख छ।
यसअघि पर्यटनमन्त्री किरातीले असार ११ गते महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए।
मन्त्री किरातीले एक साताभित्र जवाफ माग्दै उक्त स्पष्टीकरण सामाजिक सञ्जालमा समेत राखेका थिए।
तर, महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरूरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरेकोमा आपत्ति जनाएका थिए।
उनले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने समेत बताएका थिए।
'फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिँदैन, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नी, फेसबुक भरी सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु?' उनले भनेका थिए।
स्पष्टीकरणको जवाफ नदिने अडान लिएका महानिर्देशक अधिकारीले सोमबार सामाजिक सञ्जालमा नागरिक उड्डयन प्राधिकरण स्वायत्त निकाय रहेको समेत उल्लेख गरेका थिए।