नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक चेकजाँच पछि श्री एयरलाइन्सका तीनवटा जहाजलाई नियमित उडान गर्न अनुमति दिएको छ।
प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्री एयरलाइन्सका दुइटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सिआरजे गरी तीन वटा जहाज उडानयोग्य रहेको जनाउँदै उडान अनुमति दिएको हो।
यससँगै श्रीका तीनवटै जहाजले विभिन्न गन्तव्यमा उडान गरिहरेको एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले बताए।
'प्राविधिक चेकजाँच पछि तीनवटा जहाज बिहानैबाट उडान गरिरहेका छन्' उनले भने, 'एउटा जहाज निरीक्षणका लागि ग्राउन्डेड नै छ। सम्भवतः भोलिबाट नियमित उडान गर्नेछ।'
गत शनिबार काठमाडौंबाट ३:३० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण हुन नसकेपछि डेढ घण्टामा पुनः काठमाडौं नै फर्किएको थियो।
जहाज चेकजाँच तथा निरीक्षणका लागि प्राधिकरणले आइतबार भने श्रीका सबै जहाज ग्राउन्डेड गरेको थियो।