नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रवर्द्धन गर्न आग्रह गरेका छन्।
श्रीलंकाको क्याण्डीमा नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघको संयुक्त आयोजनामा भएको नेपाल–श्रीलंका सेल्स मिसन कार्यक्रममा बोल्दै उनीहरूले बुद्ध जन्मस्थलबाट टुर प्याकेज सुरू गरेर अन्य बौद्धस्थलहरू जोड्नु पर्नेमा जोड दिए।
श्रीलंकन र भारतीय ट्राभल एजेन्सीहरूले भारतको बोधगया लगायतका बौद्धस्थलबाट टुर प्याकेज बनाएर पर्यटकलाई लुम्बिनी लैजाँदा बसाइ अवधि बढ्न सकेको छैन।
अब टुर प्याकेज बनाउँदा नेपालको लुम्बिनीलाई केन्द्रमा राखेर बनाइनु पर्ने नेपाली पर्यटन व्यवसायीको जोड छ। यसले पर्यटकको बसाइ अवधि बढ्ने अपेक्षा उनीहरूको छ।
सेल्स सिमन कार्यक्रम उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र विशेष गरेर लुम्बिनीमा श्रीलंकन पर्यटकहरूलाई आमन्त्रण गर्न नेपाली टोली यहाँ आएको बताए।
नेपाल र श्रीलंकका पर्यटन व्यवसायीहरूको सहकार्यले एकअर्का देशमा पर्यटन प्रवर्द्धन गर्न सकिने उनको धारणा थियो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलम्बो उडानका लागि नेपाल बायुसेवा निगम तयारी रहेको बताउँदै श्रीलंकन एयरलाइन्सलाई समेत भैरहवा उडान गर्न आह्वान गरे।
उनले बौद्ध सर्किटको प्याकेज बनाउँदा लुम्बिनीलाई पहिलो प्राथमिकता राख्न श्रीलंकन व्यवसायीहरूलाई अनुरोध गरे।
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले श्रीलंकन नागरिकलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निमन्त्रणा दिए।
उनले बौद्धस्थलको टुर प्याकेट बनाउँदा लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुको तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटीहवा हुँदै बोधगया, सारनाथ, कुशीनगरलाई समेटर बनाउन आग्रह गरे।
‘लुम्बिनी आउन हवाई मार्ग सहज बनेको छ, लुम्बिनीको काखैमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, श्रीलंकाबाट सिधा उडान गर्नुस् र लुम्बिनीबाट बुद्धस्थल भ्रमण सुरू गर्नुस्,’ उनले भने।
अध्यक्ष श्रेष्ठले नेपाल पर्यटनका लागि महत्वपूर्णस्थल भएको जनाउँदै धार्मिक, सांस्कृतिक साथै साहसिक र मनोरञ्जनको पूर्ण प्याकेज नेपालले पस्कने बताए।
नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालका पर्यटकीय आकर्षण र विविधताबारे प्रस्तुतीकरण दिँदै विश्वकै घुम्नैपर्ने मुलुकमा नेपाल एक उत्कृष्ट गन्तव्य भएको जनाए।
उनले नेपाल र श्रीलंकाको जनस्तरमै सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र बुद्धिष्ट पर्यटकहरूलाई नेपाल जीवनमा एकपटक पुग्नै पर्ने गन्तव्य रहेको उल्लेख गरे।
श्रीलंकन प्रशिद्ध भिक्षु धर्मराथना थेरोले श्रीलंका र नेपाललाई भवगान बुद्ध र बौद्ध पर्यटकीय गन्तव्यले जोडेको उल्लेख गरे।
बुद्ध नेपालमा जन्मनु नेपालीहरूका लागि सौभाग्य भएको उल्लेख गर्दै उनले हरेक श्रीलंकनलाई जीवनमा लुम्बिनी र बौद्ध पर्यटकीय गन्तव्यहरूमा भ्रमण गर्न आग्रह गरे।
श्रीलंकन एयरलाइन्सका प्रबन्धक उपेन्द्र राजापाक्षले आफ्ना अधिकतम नागरिकलाई नेपाल पुर्याउन श्रीलंकन एयरले सहयोग गर्ने बताए।
भविष्यमा नेपालका सबै विमानस्थलमा नियमित उडानका लागि पहल गर्ने जनाए।
सिद्धार्थ होटल संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक किशोर जोशीले नेपालमा अधिकतम पर्यटकहरू पठाउन र लुम्बिनी एवं आसपासका बौद्ध गन्तव्यहरूमा घुमाउन उपस्थित श्रीलंकन पर्यटन व्यवसायीलाई आग्रह गरे।
कार्यक्रममा नेपालका पर्यटन व्यवसायीसहित श्रीलंकन एयरलाइन्सका प्रतिनिधि, त्यहाँका होटल, ट्राभल, टुर अपरेटर गरी ६० बढी सहभागी थिए।
त्यहाँ विजनेस टु विजनेस (बिटुबी) पनि भएको थियो। नेपाली पर्यटन व्यवसायीले आफ्नो टुर प्याकेजबारे जानकारी गराएका थिए।
श्रीलंकन नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिन र नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारी अधिकारी र पर्यटन व्यवसायी श्रीलंका पुगेका हुन्।
क्याण्डी पछि श्रीलंकाको राजधानी कोलम्बोमा नेपाली टोलीले जुलाई १ तारिखमा कार्यक्रम गर्दैछ।