काठमाडौंमा पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालीम सुरू भएको छ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को सहकार्य तथा सञ्चारिका समूह नेपालको संयोजनमा सोमबारदेखि उक्त तालिम सुरू भएको हो।
विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ जना पत्रकार महिलाहरूको सहभागिता रहेको तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटनका बारेमा समेत प्रशिक्षण दिइने छ।
यस्तै तालिममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र र यसका आयामबारे पनि प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ।
तालिम उद्घाटनमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकार महीलाहरूका लागि यो तालिम आयोजना गरिएको बताए। यसले पर्यटन क्षेत्रमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरू लाभान्वित हुने अपेक्षा गरिएको उनको भनाइ छ।
सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले पछिल्लो समय पत्रकारितामा महिला सहभागिता बढिरहेको सन्दर्भमा यो तालिमले पर्यटन क्षेत्रमा क्यामेरा चलाउने पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि हुने बताइन्।
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यवहारीक कक्षाहरू सञ्चालन गरिएको र यसले फोटा पत्रकारिताका काम गर्दै गरेका तथा नयाँ आउन चाहनेलाई समेत सहज हुने बताए।
तालिमको मंगलबार र बुधबारको शेसनमा फोटो पत्रकारहरू सुनिल शर्मा र सुनिल श्रेष्ठ लगातले प्रशिक्षण दिनेछन्। यस्तै वरिष्ठ फोटो पत्रकारहरू मीन बज्राचार्य र विकास कार्कीले फोटो पत्रकारिताको अनुभव र नयाँ आयामबारे आफ्ना अनुभव साट्नेछन्।
एसटिएलआरपिले पर्यटनका अन्य क्षेत्रमा तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकार महीलाहरूको फोटो पत्रकारिताको क्षेत्रमा क्षमता अभिवृद्धि होस् भनेर यो तालिमको आयोजना गरिएको परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले बताए।
दवाडीका अनुसार परियोजनाले छिट्टै एनएफपीजेसँगको सहकार्यमा पुरूष तथा महिला दुबै पत्रकारहरूका लागि अर्को तालीम समेत आयोजना गर्नेछ।