नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले आफूलाई सोधिएको भनिएको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उनलाई विभिन्न आरोप लगाउदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए।
महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताए।
उनले भने 'फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिँदैन, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नी, फेसबुक भरी सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु?'
यसैगरी महानिर्देशक अधिकारीले निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएका विषयमा बिमती राखेका कारण आफूलाई बीनाकारण स्पष्टीकरण सोधिएको आरोप लगाए।
हाल प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा १५ करोड रुपैयाँ खर्च गरेर २७ वटा हेलिकप्टर उडान तथा अवतरण हुन सक्ने गरी हेलिपोर्ट बनाइरहेको र निर्माणाधीन उक्त हेलिपोर्ट यही असारबाट नै सञ्चालनमा ल्याउने तयारी हुँदै गर्दा निजी क्षेत्रलाई हेलिपोर्ट दिन आवश्य नरहेको भन्दै महानिर्देशक अधिकारी त्यसको बिमतीमा रहँदै आएका छन्।
मन्त्री किरातीको गएको जेठ २६ गतेको मन्त्रीस्तरीय निर्णयद्वारा सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएका थिए।
महानिर्देशक अधिकारीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ।
सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने नीति लिएको भए पनि त्यस नीति विरुद्ध काम गरेको र अभिव्यक्तिहरू दिइएको आरोप लगाइएको छ।