अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्टले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसिसिआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले इटहरीमा उक्त ब्राण्ड भित्र्याउने भएका हुन्।
विंडहाम होटल्स एण्ड रिसोर्टले हाल ९५ देशमा २४ ब्रान्डमा ८ हजार ९ सयभन्दा बढी होटल व्यवस्थापन गरिरहेको छ। रमाडा विंडहामको 'मिडस्केल' ब्रान्ड हो। यो ब्रान्डमा हाल ६० देशमा ८ सय ५० भन्दा बढी होटल छन्।
नयाँ दिल्लीमा विंडहाम होटल्स एण्ड रिसोर्टसँग नेपालको इटहरीमा विंडहाम होटल बाइ रमाडा खोल्नका लागि सम्झौतामा हस्ताक्षर गरिएको हो।
सन् २०२४ मा होटल खोल्ने अपेक्षा गरिएको छ र यो नेपालका धेरै व्यापारिक केन्द्र र व्यावसायिक प्रतिष्ठानहरू नजिकै अवस्थित हुनेछ।
होटलमा ८० कोठा, रेस्टुरेन्ट, बार र लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल हुनेछ। साथै भोज हल र बैठक कोठा पनि हुने बताइएको छ।
सम्झौतामा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत र युरेसियाका मार्केट प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरे।
बस्नेतले इटहरीमा विश्वस्तरीय ब्राण्ड ल्याउन पाउनु गौरवको विषय भएको बताए।
यसले नेपालको पूर्वी क्षेत्रका आगन्तुकहरूलाई विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्ने समेत उनले बताए।
त्यसैगरी शर्माले सम्झौताले नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै विंडहामको रमादाले इटहरीका पाहुनालाई नेपाली परम्परागत आतिथ्यतासँगै विश्वस्तरको सेवा प्रदान गर्ने बताए।
होटलमा जिम, स्पा, स्विमिङ पुललगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुने बताइएको छ।