पोखरामा आज (शुक्रबार)देखि सुरू भएको नेपाल–चाइना फ्रेण्डसिप ड्रागन बोट फेस्टिवलकाे पहिलो चरणको खेल सम्पन्न भएको छ।
यसमा पहिलो नम्बरमा चीनको सिचुआन ड्रागन बोट टिम रहेको छ। यस्तै दोस्रो नम्बरमा नारा ड्रागन बोट टिम (नेपाल), तेस्रोमा युनान ड्रागन बोट टिम (चीन) रहेको छ।
भोली सम्पन्न हुने प्रतियोगितामा नेपाली चार चिनियाँ चार गरी आठ समूह सहभागी छन्। फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ।
प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर, चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा, नारा ड्रागन बोट टोली नेपाल, एनआरिसए बोट टोली नेपाल, फेवा ड्रागन बोट टोली नेपाल र पोखरा महानगर ड्रागन वोट टोलीले प्रतिस्पर्धा गरेका छन्।
पहिलो चरणमा विभिन्न ८ टिममा डेढ सय जना प्रतियोगितामा सहभागी थिए। पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठ वटा बोट रेश प्रतियोगिता हुनेछ। प्रतियोगितामा विजेताले २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन्।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा ड्रागन बोट रेस सुरू भएको हो।
पोखरामा आयोजना गरिएको महोत्सव (फेस्टिभल )को संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती तथा नेपालका लागि चिनीयाँ राजदूत छेन संगले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
महोत्सवको उद्घाटन गर्दै मन्त्री किरातीले नेपालमा चिनियाँ पर्यटक बढाउन यो महोत्सव फलदायी हुने बताए। उनका अनुसार दुई देशबीच हुने यस्ता कार्यक्रमले दुई देश बिचको सम्बन्धलाई थप उचाई प्रदान गर्नेछ।
नेपालका लागि चिनीयाँ राजदूत छेन संगले नेपाल र चीन बीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बन्ध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलोपटक आयोजना गरिएकाे यस प्रकारको कार्यक्रमले समग्र नेपालकै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए।
उनले यो कार्यक्रम एक पटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिनेगरी अगाडि बढाउने सोच रहेको बताए। 'यो कार्यक्रम नेपालको समग्र पर्यटनमा नयाँ प्रडक्टका रुपमा थपिने छ। यसका माध्यमबाट हरेक वर्ष थप पर्यटक ल्याउन सकिन्छ। यसमा सबै सरोकारवालाहरूको सहयोग र सहभागिता जरुरी छ ' उनले भने।