सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेट-बोट बन्द भएको छ।
उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेट-बोट सञ्चालनमा थिए।
वर्षासँगै कोशीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेट-बोट बन्द गरिएको कोशी एड्भेन्चरका सञ्चालक समितिका सचिव शिव थापाले बताए।
'कोशीमा पानी बढेपछि सबै जेट-बोट कोशीबाट निकालिसक्यौं,' थापाले भने, 'बोटले पानीको छाल नै काट्न नसक्ने अवस्था भएपछि बन्द गरिएको हो।'
पानीको बहाव घटेसँगै आगामी असोज महिनादेखि फेरि बोट सञ्चालनमा आउने पनि सचिव थापाले बताए।
बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्थानहरूमा यात्रु ओसारपसार गर्दै आएको थियो। बोट मुख्यगरी बराह क्षेत्र, त्रिवेणी, सिम्ले र माईबेनी गरी चारवटा स्थानमा आउजाउ गर्थ्यो।
गाडीबाट झन्डै तीन घन्टा समय लाग्ने ठाउँ सिम्लेमा जेट-बोटले करिब १५ मिनेटमै पुर्याउँथ्यो। बोटका कारण पहाडी जिल्ला भोजपुर र धनकुटा जाने यात्रुहरूलाई सहज थियो।क