पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ।
चीनको सिचुवान एयरलाइन्सको ए–३१९ एयरबस पहिलो पटक पोखरा विमानस्थलमा अवतरण भएको हो।
चीनको छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस आज बिहान ८ः५० मा अवतरण भएको पोखरा विमानस्थलले जनाएको छ। उक्त एयरबसमा १३० जना यात्रु छन्।
छेन्दुबाट उडेको २ घण्टा ४५ मिनेटमा विमान पोखरा अवतरण भएको विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए।
फेवातालमा असार ८ र ९ गते आयोजना हुन लागेको ‘ड्रागन बोटरेस फेष्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी र केही नेपाली विमानमा सवार छन्। चीन भ्रमणमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सोही विमानबाट नेपाल आएका छन्।