पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ।
चीनको सिचुवान एयरलाइन्सको ए–३१९ एयरबस पहिलो पटक पोखरा विमानस्थलमा अवतरण हुन लागेको हो।
चीनको छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस आज विहान ८ः५० मा अवतरण हुने पोखरा विमानस्थलले जनाएको छ। उक्त एयरबसमा १३० जना यात्रु रहनेछन्।
छेन्दुबाट उडेको २ घण्टा ४५ मिनेटमा विमान पोखरा अवतरण हुने विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए।
फेवातालमा असार ८ र ९ गते आयोजना हुन लागेको ‘ड्रागन बोटरेस फेष्टिभल’मा सहभागी हुने चिनिया खेलाडी र केही नेपाली विमानमा सवार हुनेछन्। चीन भ्रमणमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सोही विमानबाट नेपाल आउँदैछन्।
चीन सरकारको २२ अर्ब ऋण सहयोगमा बनेको विमानस्थल गत जनवरी १ देखि संचालनमा आएको थियो।
अन्तर्राष्ट्रिय विमानस्थल भनिए पनि यसअघि आन्तरिक उडान मात्र हुँदै आएका थिए। चार्टर उडानमार्फत पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुन लागेको विमानस्थल प्रमुख गौतमले बताए।