पर्यटन क्षेत्रमा पछिल्लो एक महिनामा डेढ अर्ब लगानी थपिएको छ।
उद्योग विभागको तथ्यांकअनुसार असार महिनामा मात्र होटल र क्यासिनो गरी १ अर्ब ४५ करोड ४६ लाख ८० हजार रूपैयाँ लगानी थपिएको हो।
यो अवधिमा १२ वटा उद्योग र एउटा क्यासिनो दर्ता भएका छन्।
एक महिनामा काठमाडौंमा मात्र ८ वटा होटल दर्ता भएका छन्। विभगका अनुसार काठमाडौंको होटल लो मुस्ताङ प्रालिले ५९ करोड २६ लाख रूपैयाँ लगानी गरेको छ। यहाँ ८० वटा कोठा छन्।
काठमाडौंमै क्रमशः बुशा होटल प्रालिले २ करोड, होटल रिजोइस प्रालिले १० करोड, म्यारिगोल्ड रेष्टुरेन्ट्स प्रालिले ४ करोड, कृपा रेष्टुरेन्ट्स प्रालिले ४ करोड, चेङकिङ हट पोट स्केवर्स प्रालिले २ करोड, के.क्याफे प्रालिले २ करोड, काङकाङ होटल प्रालिले १० करोड र बौद्ध बुटिक होटल प्रालिले १५ करोड लगानी गरेका छन्।
ललितपुरमा दुई वटा होटल दर्ता भएका छन्। होटल ग्रीन माउन्टेन प्रालिले ललितपुरमा १५ करोड र तलमाथि कफी प्रालिले ललितपुरमा २ करोड लगानी गरेको छ। गोल्डेन ब्लेसिङ्ग फुड्स् प्रालिले कास्कीमा २ करोड लगानी गरेको छ।
विभागकाअनुसार गत महिनामा एउटा मिनी क्यासिनो पनि दर्ता भएको छ। वेल्लजी रिक्रियशन प्रालिले सिन्धुपाल्चोकको भोटेकोशी होटलमा क्यासिनो सञ्चालन गर्न लागेको हो। यसका लागि कम्पनीले १८ करोड रुपैयाँ लगानी गरेको छ।
यो सँगै चालु आर्थिक वर्षको ११ महिनामा पर्यटन क्षेत्रमा २४ अर्ब ९ करोड ४५ लाख रूपैयाँ लगानी थपिएको छ।
उद्योग विभागको तथ्यांकअनुसार यो आर्थिक वर्ष साउनदेखि वैशाखसम्म होटल, क्यासिनो र केबलकारमा गरी उक्त लगानी थपिएको हो।