प्रतिकूल मौसमका कारण आन्तरिक हवाइ उडान प्रभावित भएको छ।
मौसम बदलीका कारण भिजिबिलिटी (दृश्यात्मकता) कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार अहिले विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्ध गरिएको छ।
काठमाडौंबाट सिमराका लागि बुधबार साँझ तय गरिएका दुई उडान रद्ध गरिएको छ भने विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज उतै फर्किएको छ।
धनगढीबाट काठमाडौं आएको जहाज पनि लामो समयको 'होल्ड' पछि काठमाडौं विमानस्थलमा अवतरण गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
यस वर्षको मनसुन प्रणाली बुधबार नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भागमा आगमन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसका कारण काठमाडौंमा साँझदेखि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ।