संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगममा नयाँ जहाज अत्यावश्यक भएपनि थप्न नदिन षड्यन्त्र भइरहेको बताएका छन्।
नेपाल वायुसेवा निगमसँग प्रयाप्त जहाज नभएको कारण निजी कम्पनीहरूको भाडादर अत्यन्त महंगो भएको उल्लेख गर्दै निगमले जहाज थपेर दुर्गम क्षेत्रका जनतालाई पनि सस्तो दरमा सेवा दिनुपर्ने बताए।
मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको मलेसिया भैरहवा उडानको शुभारम्भ गर्दै मन्त्री किरातीले साना-ठूला गरी कम्तीमा ५० वटा निगमका आफ्नै विमान हुनुपर्ने बताए।
विभिन्न बहानामा निगमलाई जहाज किन्न नदिने षड्यन्त्र भइरहेको भन्दै मन्त्री किरातीले जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुने बताए।
‘जहाज नै हुँदैनन् भने यो मन्त्रालय किन चाहियो? खारेज गरिदिए हुन्छ, तर जहाज खरिद गर्दा कुनै दाग नलाग्ने गरी ऐन, नियम अनुसार र पारदर्शी ढंगले खरिद गर्नुपर्छ,’ उनले भने।
उनले निगमसँग भएका जहाज समेत पूर्ण क्षमतामा संचालन नगरेको भन्दै वायुसेवा निगमको बजारीकरण र प्रचारको गति बढाउँदै भएका जहाजलाई घाम तपाएर नराखी संचालन गर्न आग्रह गरे।
‘निगमले विमानहरूलाई घाम तपाएर राख्ने छुट छैन, बजारीकरण र प्रचारको गति बढाएर भएका जहाजलाई पूर्ण क्षमतामा संचालन गर्नुपर्यो,’ उनले भने।
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेपनि एयर रुट लगायतका लागि केही चुनौती रहेको बताउँदै ती चुनौतीलाई सबै मिलेर समाधान गर्नुपर्ने बताए।
विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन गरिएको १३ महिना पुगिसक्दा पनि भारतसँग हवाइ रूट पाउन नसकेको उल्लेख गर्दै उनले सरकार हवाइ रूट प्राप्तिका लागि मरिमेटेर लागेकोले भैरहवाबाट छिट्टै नियमित उडान हुने आश्वासन दिए।
विमानस्थललाई नियमित र पूर्ण क्षमतामा संचालन गर्न प्रचार र बजारीकरणलाई बढाउन पनि आग्रह गरे।
लुम्बिनी आउन चाहने थाइल्यान्ड, कम्बोडिया, श्रीलंका, भियतनाम लगायतका बौद्ध धर्मावलम्बीको बाहुल्य भएका मुलुकबाट सिधा भैरहवा उडानका लागि पहल भइरहेको मन्त्री किरातीले बताए।
रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य दीपक बोहराको लिखित मन्तव्य वाचन गर्दै राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा निजी क्षेत्रको करिब ८० अर्ब लगानी संकटमा परेको बताइन्।
सो अवसरमा मन्त्री किरातीले गौतमबुद्ध विमानस्थल निर्माण र नेपाल वायुसेवा निगमको जहाज संचालनमा योगदान पुर्याएको भन्दै पूर्व नागरिक उड्ययन मन्त्री दीपक बोहरालाई दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए।
विमानस्थल उद्घाटन भएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले अन्तर्राष्ट्रिय उडान गरेपछि यसक्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन्।
२०७९ साल वैशाख १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाजले पहिलोपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण अवतरण गरेको थियो।
त्यसयता भैरहवाका लागि कुनैपनि जहाज उडान नगरेको नेपाल वायुसेवा निगमले १३ महिनापछि मलेसियाबाट उडान भरेको न्यारोबडी जहाजले पहिलोपटक भैरहवा अवतरण गरेको हो।
विमानस्थलको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ जेठ २ गते उद्घाटन गरेका थिए।
उद्घाटन पछिको केहि महिना नियमित उडान गरेको कुवेतको जजिरा एयर र नेपालको हिमालयन एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू गरेका थिए। तर, अहिले यी दुवै एयरलाइन्सले यहाँबाट उडान बन्द गरेपछि विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेको थियो। वायुसेवा निगमले समेत उडान सुरू नगरेको भन्दै सरकारको आलोचना भइरहेको थियो।
चौतर्फी आलोचना र दबाबबीच नेपाल वायुसेवाले काठमाडौं–क्वालालम्पुर–भैरहवा सातामा एउटा भएपनि उडान सुरू गरेको हो।
मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेको निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मंगलबार बिहान पौने ९ बजे ९१ जना यात्रु लिएर भैरहवा अवतरण गरेको थियो। जहाजमा आएका ३१ जना यात्रु भैरहवा अवतरण गरेपनि ६० जना यात्रु भने सोहि जहाजमा काठमाडौं गएका थिए।
हरेक मंगलबार मलेसियाबाट आउने जहाज यात्रु ओरालेर काठमाडौं फर्किने छ। भैरहवाबाट यात्रु थप गर्ने र इन्धन समेत भर्न पाउने छैन।
नेपाल वायुसेवाले व्यवसायिक उडान सुरू गरेपछि मलेसियामा रोजगारी गरेर घर फर्कने पश्चिम क्षेत्रका नेपालीहरूलाई काठमाडौं ओर्लनुपर्ने बाध्यता केहि भएपनि हट्ने छ। सोही विमानमा मलेसियाबाट भैरहवा ओर्लिएका रमानन्द धरिकार र चन्द्रबहादुर चौधरीले सस्तो भाडामा घरछेउको विमानस्थलमा ओर्लन पाएकोमा खुसी व्यक्त गरे।
नेपाल वायुसेवा निगमअनुसार अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया–काठमाडौं एकतर्फी भाडादर ५६ हजार रुपैयाँ तोकिएको छ। तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवर्द्धन गर्न भन्दै तत्कालका लागि मलेसिया–भैरहवा हवाइ भाडादर ११ हजार रुपैयाँ मात्रै कायम गरिएको छ।
नेपाल उद्योग वाणिज्य संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले वायुसेवा निगमबाट व्यवसायिक उडान सुरू हुनु सकारात्मक भएको बताए।
उनले विमानस्थललाई लक्षित गरेर भैरहवा आसपासमा निजी क्षेत्रले अर्बौं लगानी गरेको भन्दै अब भैरहवा–दिल्ली, श्रीलंका, थाइल्याण्ड लगायतका देशमा पनि नियमित उडान सुरू गर्न आग्रह गरे।
विमानस्थल निर्माण सुरू भएपछि नै पर्यटन र कृषि क्षेत्रमा अर्बौं लगानी गरिएपछि विमानस्थल संचालनमा आउन नसक्दा निजी क्षेत्रका लगानी असुरक्षित भइरहेको उनको भनाइ छ।