संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस)' सञ्चालनको जानकारी गराउन भारतलाई पत्राचार गर्ने तयारी गरेको छ।
मन्त्रालयले भारतीय नागरिक उड्डयन प्राधिकरणलाई यही साता पत्राचार गर्न लागेको मन्त्रालयका सचिव सुरेश कुमार अधिकारीले जानकारी दिए।
'शुक्रबार नै हामीले पत्राचारको तयारी गरेका थियौं। केही आन्तरिक कारणले रोकियो,' सचिव अधिकारीले सेतोपाटीसँग भने, 'सम्भवतः आइतबार नै मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गर्नेछ।'
नेपाल र भारत सरकारबीच भैरहवा विमानस्थलमा आइएलएस सञ्चालन गर्ने विषयमा कुरा भइसकेको छ। एक साताअघि भारतीय भ्रमणका क्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' र समकक्षी नरेन्द्र मोदीबीच यस विषयमा छलफल भएको थियो।
छलफल भए पनि आइएलएस सञ्चालनका लागि भारतले कहिलेबाट अनुमति दिन्छ भन्ने कुरा टुंगोमा पुगेको छैन। यही जानकारीका लागि पर्यटन मन्त्रालयले पत्रचार गर्न लागेको सचिव अधिकारी बताउँछन्।
'गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलम एरोनोटिकल इनफर्मेशन पब्लिकेशन 'एआइपी' जारी गरेको र प्राविधिक रूपमा नेपाल यो प्रणाली सञ्चालनका लागि तयार रहेको जानकारी गराउन भारतलाई पत्राचार गर्न लागिएको हो,' उनले भने।
मन्त्रालयले आइएलएससँगै 'हाइ अल्टिच्युड' उडानका लागि नयाँ हवाइ बिन्दुको प्रस्ताव गरेको छ।
हाल नेपाल भारतबीच 'लो अल्टिच्युड' १५ हजार फिट उडानका लागि सहमति भइसकेको छ। सचिव अधिकारीकाअनुसार अब 'हाइ अल्टिच्युड' ३० हजार फिट माथि उडानका लागि समेत हवाइ रूटका लागि आवश्यक सहजिकरण गर्न अनुरोध गरेको हो।