राष्ट्रिय परिचयपत्रको लागि एक करोड २२ लाख सेवाग्राहीले विवरण दर्ता गराएका छन्। यसमध्ये करिब १३ लाख कार्ड छापिएको छ भने जम्मा ३ लाख सेवाग्राहीको हातमा परिचयपत्रको कार्ड पुगेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हाल काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरू (काठमाडौं, भक्तपुर र ललितपुर) सहित कञ्चनपुर,अछाम, गुल्मी, विराटनगर, मकवानपुर, स्याङ्जा, बाँके, दाङ, चितवन, मोरङ, कैलाली र तेह्रथुम गरी १५ जिल्ला प्रशासन कार्यालयहरूबाट कार्ड वितरण भइरहेको छ।
यसबाहेक थप जिल्ला प्रशासन कार्यालयहरूमा पनि छापिएको कार्ड पुर्याउने काम भइरहेको विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक सूर्यबहादुर खत्री बताउँछन्।
‘छापिसकेको कार्डहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने काम हुँदैछ। ती कार्डहरू छिट्टै सेवाग्राहीहरूले पाउनुहुनेछ,’ उनले भने।
उनका अनुसार सेवाग्राहीहरूको हातहातमा राष्ट्रिय परिचयपत्रको कार्ड नपुगे पनि राष्ट्रिय परिचयपत्र नम्बर (एनआइएन) भने विवरण बुझाएको २४ घण्टा भित्रै उपलब्ध गराइन्छ। एनआइएन विभागबाट प्रदान गरिने १० अंकको नदोहोरिने पृथक नम्बर हो। परिचयपत्र आवश्यक पर्ने स्थानहरूमा यही एनआइएन नम्बर बुझाए पुग्छ।
राज्यबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा जस्तै राहदानी लिन, सामाजिक सुरक्षा भत्ता लिन, राहत तथा अनुदान लिन, मतदान गर्न, सम्पत्ति खरिद-बिक्री गर्न, व्यक्तिगत घटना दर्ता गर्न र बैंकमा खाता खोल्न तथा कारोबार गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भनिएको छ। साथै मोबाइलको सिमकार्ड लिनको लागि समेत भविष्यमा राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने हुन्छ।
यी क्षेत्रमध्ये हाल राहदानी लिनुपर्दा भने राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। निर्देशक खत्रीका अनुसार छिट्टै अन्य क्षेत्रमा पनि यो अनिवार्य गरिनेछ र यसको लागि आवश्यक कार्य अघि बढाइएको छ।
अहिले यिनै क्षेत्रहरूमा आवश्यक परे प्रक्रिया अघि बढाउन कार्ड नभए पनि राष्ट्रिय परिचयपत्र नम्बर बुझाए पुग्छ। ‘सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको लागि निवेदन दिएको २४ घण्टाभित्रै एसएमएसमार्फत आरएनआइ उपलब्ध गराउँछौं। त्यही नम्बर आवश्यकता अनुसार बुझाउन सक्नुहुन्छ। कार्ड अनिवार्य भन्ने छैन,’ निर्देशक खत्रीले भने।
राष्ट्रिय परिचयपत्र नम्बर भए काम हुन्छ, त्यसैले नै कार्ड छपाई र वितरणमा ढिलो भएको हो त?
२०७५ सालको कात्तिकदेखि छपाई सुरू भएता पनि हालसम्म जम्मा १३ लाख कार्ड छापिनुलाई सुस्त भन्दा फरक पर्दैन। किनभने विभागसँग २४ सैं घण्टा चलाउन सकिने, प्रति घण्टा एक हजार बढी कार्ड छाप्ने क्षमताको मेसिन छ।
निर्देशक खत्रीका अनुसार हाल दैनिक एक सिफ्ट (बिहान १० बजेदेखि साँझ ५ बजेसम्म) छपाई हुन्छ। सो समय दैनिक १० हजार कार्ड छापिरहेको छ। मासिक २६ दिन मात्रै मेसिन चलाउँदा पनि २६ हजार कार्ड छापिन्छ। केही समय अघिसम्म विभागमा दुई सिफ्टमा समेत छपाई हुने गरेको थियो।
कार्ड छाप्न सुस्त हुनुलाई आवश्यकता अनुसार जनशक्ति नभएको भन्दै विभाग बताइरहेको छ। ‘दैनिक तीन सिफ्टमा मात्रै काम भएपनि ३० हजार बढी कार्ड छाप्न सक्ने क्षमता छ। तर हामीसँग पर्याप्त मात्रामा जनशक्ति छैन।’
उनका अनुसार यसका लागि आफूहरूले मन्त्रालयसँग समन्वय गरिरहेको छ।
राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन काम द्रुत गतिमा भएपनि छपाई र वितरण अपेक्षित रूपमा हुन सकेको छैन। करिब तीन साता अघि मात्रै विभागको महानिर्देशक नियुक्त भएका झक्कप्रसाद आचार्यसँग केही समय अघि कुराकानी गर्दा उनले कार्ड छापेपनि भण्डारणको समस्या रहेको बताएका थिए।
'कार्ड छाप्न सक्ने क्षमता भएपनि भण्डारणलाई व्यवस्थित तरिकाले लैजान नसकेको बुझिन्छ। सम्बन्धित कार्यालयहरूमा कार्ड पठाउन पर्याप्त पूर्वाधार र व्यवस्थापनको कमि छ,' उनले भनेका थिए, 'यो समस्याको समाधान भएसँगै वितरण पनि द्रुत गतिमा हुनेछ।'
राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता, कार्ड छपाई र वितरणको काम अघि बढ्दै गर्दा विभागले विभिन्न जिल्लाको वडास्तरदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन गरिरहेको छ। यतिबेला १५ जिल्लाका वडा कार्यालयहरूमा सो अभियान सञ्चालन भइरहेको छ। ५२ वटा जिल्लामा सम्पन्न भइसकेको छ भने बाँकी १० जिल्लामा अभियान सञ्जालन गर्ने तयारीमा विभाग छ।
विभागले आगामी माघसम्म दुई करोड सेवाग्राहीको विवरण दर्ता गर्ने लक्ष्य राखेको छ। उक्त लक्ष्य पुरा हुनेमा निर्देशक खत्री सकारात्मक रहेको बताउँछन्। यद्यपि कार्ड छपाई र वितरणको काम भने सो समयभित्र सकिने सम्भावना कमै छ।
राष्ट्रिय परिचयपत्र व्यक्तिको परिचय प्रमाणीकरणको डिजिटल समाधान हो। नागरिकको फोटो सहितको स्मार्ट कार्डमा व्यक्तिगत विवरण तथा बायोमेट्रिक विवरण (आँखाको नानीको फोटो, १० औंलाको छाप र विद्युतीय हस्ताक्षर) समावेश हुन्छ।
राष्ट्रिय परिचयपत्रको लागि सेवाग्राहीले आफ्नो विवरण विभागको वेबसाइटमा गई अनलाइन दर्ता गराउन सक्छन्।
अथवा हाल देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ४२ वटा इलाका प्रशासन कार्यालय, नारायणहिटी दरबार तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानहरूबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिन्छ।
यसबाहेक उपत्यका बाहिरका सेवाग्राहीहरूलाई अत्यावश्यक पर्दा सहजता प्रदान गर्न सरकारले उपत्यका भित्र केही स्थान तोकेको हो।
सरकारले तोकेको दर्ता स्थानमध्ये जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरूले विवरण दर्ता गर्न सक्नेछन्।
जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।
त्यस्तै नारायणहिटी दरबार परिसरमा स्थापित विवरण दर्ता स्थानमा प्रदेश नं. १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेश प्रदेशको सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको दर्ता स्थानबाट भने नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीहरू सेवा लिन सक्नेछन्। र, अन्तिममा प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा स्थापित विवरण दर्ता स्टेसनबाट राष्ट्रसेवक कर्मचारीका परिवारका सदस्यले परिचयपत्र दर्ता सेवा लिन सक्ने जनाइएको छ।
राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, बसाई सरी आएकाको हकमा बसाई सराईको सक्कल प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको वा नाता खुल्ने सक्कल प्रमाणपत्र, कर्मचारी भए कार्यालयको सिफारिस र पूर्व कर्मचारी भए पेन्सनपट्टा र राष्ट्रसेवक कर्मचारीका परिवारको लागि यीसँगै कर्मचारीको परिचयपत्रको प्रतिलिपि आवश्यक पर्छ।