राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म १० लाख बढी राष्ट्रिय परिचयपत्र छापेको छ।
विभागका निर्देशक एवम् सूचना अधिकारी कृष्ण पौडेलका अनुसार हालसम्म विभागबाट १० लाख २५ हजार बढी राष्ट्रिय परिचयपत्रको छपाइ काम सकिएको छ। त्यसमध्ये एक लाख २५ हजारले पाइसकेका छन् भने बाँकी ९ लाख कार्ड वितरणको चरणमा छ।
अहिले काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरू (काठमाडौं, भक्तपुर र ललितपुर) सहित अछाम, गुल्मी, विराटनगर, कञ्चनपुर , मकवानपुर, स्याङ्जा, बाँके, कञ्चनपुर र कैलाली गरी १२ जिल्ला प्रशासन कार्यालयहरूबाट कार्ड वितरण हुँदैछ।
'करिब ९ लाख कार्ड छापेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने तयारी हुँदैछ,' विभागका निर्देशक पौडेल भन्छन्, 'अबको केही महिनामा छापिइसकेका ९ लाख वटाभन्दा धेरै राष्ट्रिय परिचयपत्र सेवाग्राहीहरूसम्म पुग्नेछ।'
हालसम्म एक करोड १० लाख ६६ हजारले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन्। विवरण दर्ता गरेको केही समयमै सेवाग्राहीले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर पाउँछन्। कार्डका लागि भने लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था छ। यसको मुख्य कारण एकैपटक धेरै कार्ड छाप्न नसक्नु हो।
निर्देशक पौडेलका अनुसार देशभरबाट विवरण संकलन भए पनि राष्ट्रिय परिचयपत्र कार्ड छपाइ विभागबाट मात्रै हुँदैछ। विभागबाट अहिले दैनिक १५ हजार वटा राष्ट्रिय परिचयपत्र छपाइ भइरहेको छ।
'हामीसँग भएको मेसिन दैनिक दुई सिफ्ट गरी १५ देखि १६ घन्टा चल्छ। यो समयमा १५ हजार मात्रै कार्ड छापिन्छ। त्यसैले पनि वितरणमा ढिलाइ देखिएको हो,' उनले भने।
कार्ड छपाइ र वितरण गति बढाउन तीन सिफ्टमा मेसिन सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए। दैनिक ३० हजार वटा कार्ड छाप्ने गरी मेसिन सञ्चालन गर्ने योजना बनाइएको उनको भनाइ छ।
'दैनिक ३० हजार वटा छाप्न सके वितरण पनि छिट्टै हुन्थ्यो भन्ने हो,' उनले भने।
अहिलेको अवस्थामा सेवाग्राहीले विवरण दर्ता गराएपछि राष्ट्रिय परिचयपत्र कार्ड पाउन १२ देखि १६ महिनासम्म प्रतीक्षा गर्नुपर्ने स्थिति छ। यो समस्या छिट्टै समाधान गर्ने योजना विभागले बनाएको छ।
राष्ट्रिय परिचयपत्र व्यक्तिको परिचय प्रमाणीकरणको डिजिटल समाधान हो। नागरिकको फोटो सहितको स्मार्ट कार्डमा व्यक्तिगत विवरण तथा बायोमेट्रिक विवरण (आँखाको नानीको फोटो, १० औंलाको छाप र विद्युतीय हस्ताक्षर) समावेश हुन्छ।
अहिले सरकारले राहदानी लिनुपर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ। यसबाहेक विभिन्न क्षेत्रमा राष्ट्रिय परिचयपत्र चाहिन थालेको छ।
सरकारले २०६६/६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण निर्देशन दिएको थियो। निर्देशनसँगै उक्त व्यवस्था कार्यान्वयनका लागि छुट्टै केन्द्रीय निकाय खडा गरिने घोषणा भएको थियो। सरकारको २०६७ असार १६ गतेको निर्णयअनुसार गृह मन्त्रालय अन्तर्गत विभागस्तरको केन्द्रीय निकायको रूपमा २०६७ साल साउन १ गते राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भएको हो। नेपालको संविधानको धारा ५१ मा 'राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको स्थापना गरिने छ' भन्ने उल्लेख छ।
सोही व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरी सरकारले परिचयपत्र वितरण गर्न छपाइको काम सुरू गरेको थियो। पछि २०७५ असोज २८ गते उक्त केन्द्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको केन्द्रीय पञ्जीकरण विभागलाई एकीकृत गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका रूपमा स्थापना गरिएको हो।
सोही सालको कात्तिकदेखि राष्ट्रिय परिचयपत्रको छपाइ काम सुरू गरिएको हो।
'आर्थिक वर्ष २०७७/७८ मा एक करोड नागरिकको विवरण संकलन गर्ने लक्ष्य थियो,' पौडेलले भने, 'सो योजना ढिलोचाँडो समयमै पूरा गरेका छौं। अब कार्ड छपाइ र वितरणलाई प्राथमिकतामा राख्दै तीव्र गतिमा काम गर्नेछौं।'
हाल देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ४२ वटा इलाका प्रशासन कार्यालय, नारायणहिटी दरबार तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानबाट विवरण दर्ता गर्न सकिन्छ। उपत्यका बाहिरका सेवाग्राहीलाई अत्यावश्यक पर्दा सहजता प्रदान गर्न उपत्यकाभित्र केही स्थान तोकेको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरूले विवरण दर्ता गर्न सक्नेछन्। जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरूले दर्ता गर्न सक्नेछन्।
त्यस्तै नारायणहिटी दरबार परिसरमा स्थापित विवरण दर्ता स्थानमा कोशी प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेश प्रदेशको सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको दर्ता स्थानबाट भने नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीहरू सेवा लिन सक्नेछन्।
प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा स्थापित विवरण दर्ता स्टेसनबाट राष्ट्रसेवक कर्मचारीका परिवारका सदस्यले परिचयपत्र दर्ता सेवा लिन सक्ने जनाइएको छ।
राष्ट्रिय परिचयपत्र लिन १६ वर्ष उमेर पूरा भएर नेपाली नागरिकता लिएको हुनुपर्छ। विवरण दर्ता गर्दा सक्कल नागरिकता चाहिन्छ। यसबाहेक राष्ट्रिय परिचयपत्र बनाउन निम्नलिखित कागजातहरू चाहिन्छ:
१. बसाइ सरी आएकाको हकमा बसाइसराइको सक्कल प्रमाणपत्र
२. विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको वा नाता खुल्ने सक्कल प्रमाणपत्र
३. कर्मचारी भए कार्यालयको सिफारिस र पूर्व कर्मचारी भए पेन्सनपट्टा
४. राष्ट्रसेवक कर्मचारीका परिवारको लागि यीसँगै कर्मचारीको परिचयपत्रको प्रतिलिपि