प्रदेश नम्बर २ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत जनकपुरधाममा अति विपन्न ८० परिवारका लागि घर निर्माण कार्यको शिलान्यास गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ८० घर परिवारका लागि २ कोठे भवन निर्माणका लागि आज शिलान्यास गरेका हुन्।
उनले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित बसहियामा मुसहर, हलखोर, डोमलगायत अति विपन्न वर्गका समुदायका लागि स्थायी बसोबासका लागि पक्की घर निर्माणका लागि आर्थिक वर्षको अन्तिम समयमा आएर औपचारिक रूपमा एक कार्यक्रमबीच शिलान्यास गरेका हुन्।
मन्त्री सोनलले प्रदेश २ मा मुसहर, डोम, मेस्तरलगायतका अति विपन्न वर्गका लागि जनता आवास कार्यक्रम अन्तर्गत आवास निर्माण गर्न लागिएको बताए।
उनले प्रदेश २ सरकार आगामी ५ वर्षमा पिछडिएका समुदायलाई विशेष प्राथमिकताका साथ व्यक्तिवृत्तिदेखि आवास निर्माणसम्म गर्ने योजनाका साथ कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।
जनता आवासका लागि संघीय सरकारले २ कोठे घरका लागि ३ लाख ३२ हजार रुपैयाँ उपलब्ध गराए पनि भवन निर्माण गर्न करिब ५ लाख १८ हजार रुपैयाँ खर्च हुने बताइएको छ।