२०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनर्निर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट पाँच वर्षसम्म उत्पादन बन्द हुँदा कम्पनीका अतिरिक्त राष्ट्रले नै ठूलो घाटा ब्यहोर्नु पर्नेभएको छ ।
२०७१ साल साउन १७ गतेको जुरे पहिरोले प्रशारण लाइनको टावरलाई क्षति पुर्याएपछि झण्डै चार महिना आयोजनाबाट उत्पादन बन्द भई मर्मत पछि सञ्चालनमा आएको थियो। सञ्चालनमा आएलगत्तै २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि मर्मत भइरहेको आयोजनालाई २०७३ साल असार २१ गते तिब्बतबाट आएको भोटेकोशीको बाढीले तहसनहस पारेपछि लगानीका हिसाबले नयाँ निर्माण गर्नु सरह भएको आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले बताए।
चीनको सिनो हाइड्रो कम्पनीलाई सात अर्ब रुपैयाँमा पुनर्निर्माणको ठेक्का सम्झौता भएको र आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक स्थापितले जानकारी दिए।
बाह्रबिसे–तातोपानी सडकखण्डअन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बाँध बाँधेर ३.५ किमी सुरुङमार्फत फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युत गृहमा पानी खसालिएको थियो।
बाढीले सुरुङ मार्गबाहेक बाँधस्थल, विद्युत् गृह, पेनस्टक पाइप, प्रशारण लाइनको केही टावर क्षेत्र र विद्युत् गृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पुर्याएकाले मर्मत तथा नयाँ निर्माण गर्न पर्ने आयोजनाले जनाएको छ।
प्रजातन्त्र पुनःस्थापनापछि २०५१ सालमा अरुण तेस्रो जलविद्युत् आयोजनाबाट लगानीकर्ताले हात झिकेपछि यहाँ निजी क्षेत्रबाट निर्माण कार्य सुरू भएको थियो।
अमेरिकाको पाण्डा इनर्जी र हार्जा कर्पोरेशनले २०५३ सालमा सुरू गरेको सो आयोजनाबाट उत्पादित विद्युतलाई अमेरिकी डलरमा खरिद गर्ने गरी विद्युत् खरिद विक्री सम्झौता भएको थियो। सुरूमा ३६ मेवाको स्वीकृति पाएको आयोजनाले सुरू भएको लामो समयपछि अमेरिकी सरकारको दबाबमा ४५ मेवाको स्वीकृति पाएको बताइएको छ।रासस