नेपाल विद्युत प्राधिकरणले बत्ती गएमा ११५० मा फोन गर्न अनुरोध गरेको छ।
प्राधिकरणको कल सेन्टरले बत्ती किन गयो?, कतिबेला आउछ? के कारणले गएको हो? भन्ने जानकारी उपभोक्ताहरूलाई गराइरहेको जनाएको छ। प्राधिकरणले देशका सातै प्रदेश र उपत्यकामा समेत गरी आठ ठाउँमा कल सेन्टर स्थापना गरेको जनाएको हो।
बत्ती गएको जानकारीका लागि सेवाग्राहीले ११५० नम्बरमा डायल गर्नुपर्छ। त्यसपछि प्रणालीले ग्राहकलाई कुन प्रदेशका लागि गुनासो दर्ता गर्ने हो सोही प्रदेशको कोड नम्बर थिच्न अनुरोध गर्छ।
यस्तो कोड कोशी प्रदेशको लागि १, मधेसका लागि २ काठमाडौं उपत्यकाका लागि ३, उपत्यका बाहेकका बागमती प्रदेशका लागि ४ गण्डकी प्रदेशका लागि ५ लुम्बिनीका लागि ६ कर्णालीका लागि ७ र सुदूरपश्चिमका लागि ८ मा थिच्नुपर्छ त्यसपछि ग्राहकले गरेको कल सम्बन्धित प्रदेशको कल सेन्टरका कर्मचारीले उठाउछन्।
ग्राहकले कल सेन्टरका कर्मचारीलाई आफ्नो समस्या वा गुनासो बताएपछि सेन्टरबाट सम्बन्धित शाखामा सम्पर्क गरी आपूर्तिमा परेको समस्या र समाधान हुन लाग्ने अनुमानित समय समेत ग्राहक बताउँछन्।
यसरी ११५० मा कल गर्ने उपभोक्ताले बत्ती जानुको कारण र लाइन पुन: सञ्चालन हुनका लागि लाग्ने सम्भावित समयबारे तथ्यपूर्ण र आधिकारिक जानकारी पाउँछन्। साथै लाइन पुन: सञ्चालन नहुँदासम्मको समय व्यवस्थापन गर्ने अवसर पनि ग्राहकलाई हुन्छ।
यो सेवा २४ घन्टा चालु हुन्छ। आठ मध्येका कुनै पनि कल सेन्टरमा कुनै कारणले फोन लागेन वा त्यहाँबाट समस्या समाधान भएन भने शून्य डायल गरी गुनासो टिपाउन पाइने उल्लेख छ। यो सेवा भने शनिबार बाहेक साताको ६ दिन चलाइएको प्राधिकरणले जनाएको छ।
यसअघि पनि प्राधिकरणले सेवाग्राहीको गुनासो सुन्न सेवा चलाएको थियो तर धेरैको फोन नलाग्ने लागिहाले पनि नउठ्ने समस्या थियो। अब भने त्यस्तो नहुने प्राधिकरणले जनाएको छ।
निकट भविष्यमै भविष्यमा ग्राहकले सोध्नु पहिले नै बिजुली आपूर्ति सम्बन्धी सूचना उनीहरूको मोबाइल र इमेलमा पठाइ सक्ने गरी व्यवस्थापन गरिने प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका निर्देशक टेकनाथ तिवारीले बताए।
अहिले प्राधिकरणका बत्ती घरी-घरी गैइ रहन्छ लोडसेडिङ हो कि भनेर चौतर्फी प्रश्न उठिरहेको छ।
'लोडसेडिङ हुने भनेको हामीसँग मागभन्दा कम बिजुली भएको बेला हो तर देशभित्रको उत्पादन आन्तरिक माग धान्ने मात्र नभै भारत र बङ्ग्लादेशमा समेत निर्यात भइरहेको बेला लोडसेडिङ हुने कुरै आउँदैन,' उनले भने।