नेपालले बंगलादेशमा बिजुली निर्यात सुरू गरेको छ।
यो वर्षका लागि ४० मेगावाट बिजुली निर्यात सुरू भएको हो।
बंगलादेशमा भारतीय प्रसारण लाइन प्रयोग गरेर बर्खा याममा बिजुली निर्यात गरिँदै आएको छ।
गत वर्ष कात्तिक १८ (जुलाई १५) मा नेपाल विद्युत पहिलोपटक १२ घण्टाका लागि बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) राति १२ बजेदेखि ४० मेगावाट विद्युत निर्यात सुरू गरेको हो।
गत वर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु खुशीको कुरा भएको बताए।
'बंगलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो,' मन्त्री खड्काले भने।
नेपालले हरेक वर्ष पाँच महिना बर्खाको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ।
गत वर्ष बंगलादेशसँग विद्युत निर्यात सम्झौता गरेको नेपालले त्यसवेला जम्मा १२ घण्टामात्र विद्युत निर्यात गर्न पाएको थियो। यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बंगलादेशमा विद्युत निर्यात गर्नेछ।
ऊर्जामन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र भनेको विद्युत क्षेत्र भएको बताए।
नेपाल विद्युत प्राधिकरणले त्रिशूली जलविद्युत केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट विद्युत निर्यात गर्न नेपाल, भारत र बंगलादेशबीच गत वर्ष सम्झौता भएको थियो।
आइतबारदेखि बंगलादेश निर्यात सुरू गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ।
पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए।
उक्त विद्युत बिक्रीवापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् एक अर्ब २९ करोड नेपाली रूपैयाँ आम्दानी गर्नेछ।
उक्त सम्झौता बमोजिम निर्यात हुने विद्युतको बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ। उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफरपुर, बेहरामपुर हुँदै बंगलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ।
ऊर्जा क्षेत्रमा निकै दीर्घकालीन महत्व राख्ने विद्युत निर्यातले नेपालको ऊर्जा सन्तुलन, नेपालको जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ।
नेपाल सरकारको ऊर्जा विकास मार्गचित्र–२०८१ को अवधारणा अनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिएको छ।
नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत निर्यातलाई निरन्तरता दिएको छ। प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत निर्यात सुरू गरिसकेको छ।
जेठ १८ (जुन १) बाट १८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले शनिबारदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत निर्यात सुरू गरेको हो। नेपाल र भारतबीच भएको द्विपक्षीय सम्झौता बमोजिम यो विद्युत निर्यातको बिक्री दर ५.२५ भारतीय रूपैयाँ प्रतियुनिट छ।
त्यस्तै, प्राधिकरणले आज राति १२ बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत निर्यात सुरू गरेको छ।
यसबाहेक ढल्केबर–मुजफरपुर ४०० केभी र १३२ केभी प्रशारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत खरिद बिक्री भइरहेको छ।