नेपाल विद्युत प्राधिकरणले विद्युतीय सञ्जाल योजनाबद्ध विकास नगर्दा झ्याप-झ्याप बिजुली जाने समस्या भएको बताएको छ।
आइतबार पत्रकारहरूलाई सूचनासँगै एक लिखित सामग्री उपलब्ध गराउँदै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले यसअघि पनि ट्रिपिङ समस्या रहेको उल्लेख गरेको हो।
विगतका वर्षहरूमा समेत प्रि-मनसुन र मनसुनको समयमा हावाहुरी अधिक वर्षा लगायतका कारणले लाइन ट्रिपिङको समस्या रहेको कार्यकारी निर्देशक शाक्यको सचिवालयले जनाएको छ।
'प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ हुँदा समेत अत्यधिक लाइन ट्रिपिङको समस्या देखिएकाले सोको निराकरणका लागि उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा ५ सदस्य रहेको अध्ययन कमिटी बनाएका थिए,' प्राधिकरणले सूचनामा उल्लेख गरेको छ।
समस्या देखिएपछि जनआक्रोश कम गर्न कमिटी बनाउने तर कमिटीले रिपोर्ट नदिने उल्लेख छ। दिए पनि कार्यान्वयन नहुने प्रवृत्ति विगतमा रहेको प्राधिकरणले जनाएको हो। २०८० साउन २६ गते बनेको कमिटीले पनि कुनै रिपोर्ट नदिएको उल्लेख छ।
'स्पष्ट भन्नुपर्दा उच्च स्तरीय यो कमिटी समस्या समाधानका लागि नभइ जनआक्रोश कम गर्न बनाइएको थियो। योजनाबद्ध रूपमा विद्युतीय सञ्जालको विकास नगरी सस्तो लोकप्रियताका लागि आफू अनुकूल वितरण तथा प्रसारण प्रणाली विकास गर्दा कमजोर भएको प्रणालीको कारण बेला बेलामा समस्या बल्झिएको हो,' तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै प्राधिकरणले भनेको छ।
प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडी सामाजिक सञ्जालमा आएका कुरामा कुनै सत्यता नभएको पनि प्राधिकरणले जनाएको हो।
'सामाजिक सञ्जालमा रहेको आफ्नो प्रभावलाई गलत सूचना तथा सामाजिक आक्रोशमा बदल्नका लागि नियोजित रूपमा प्रयोग गरिरहिएको छ। यस्ता कार्यमा निर्वाचित जनप्रतिनिधि, लोकप्रिय कलाकार समेत जोडिने विषय चिन्ताजनक छ र विषय वस्तु नबुझी अभिव्यक्त हुने भनाइले समस्या समाधानका लागि सकारात्मक योगदान पुर्याउन सक्दैन,' प्राधिकरणले उल्लेख गरेको छ।
प्राविधिक समस्याको समाधान प्राविधिक ढंगबाट नै खोज्नुपर्ने उल्लेख गरेको छ।
'हालको नेतृत्वले सस्तो लोकप्रियताको पछाडि नलागी यो समस्याको दीर्घकालिन समाधानका लागि कार्य गर्दछ, तर नतिजा देखिन समय लाग्छ। विगतका वर्षहरूमा पनि समाजिक सञ्जालमा आक्रोश व्यक्त भएको थियो, त्यसलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि कार्य गरेको भए यो अवस्था आउने नै थिएन,' सूचनामा भनिएको छ।