पाल्पाको सिद्धबाबामा बनिरहेको सुरूङमार्ग पुसभित्रै ब्रेक-थ्रु गर्ने तयारी छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-तानसेन सडकखण्डको सिद्धबाबामा एक हजार १२६ मिटर लामो सुरूङमार्ग बनिरहेको छ। पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएको थियो। कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजाररूपैयाँमा ठेक्का सम्झौता गरेको हो।
डिजाइनमै एक वर्ष समय लगाएको कम्पनीले २०७९ साल अन्तिमतिर सुरूङ खन्ने काम सुरू गरेको थियो। झन्डै दुई वर्षमा सुरूङमार्गको मुख्य टनेलकै ब्रेक-थ्रु गर्ने तयारीमा पुगेको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए। उनका अनुसार शुक्रबारसम्म सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक-थ्रु भइसकेका छन्।
पुसभित्रै ब्रेक-थ्रु गर्ने गरी उत्तर र दक्षिण दुवैतर्फबाट सुरूङ खन्ने काम भइरहेको अधिकारीले बताए।
'उत्तरतिरको पोर्टलबाट ४६२ मिटर खनिएको छ भने दक्षिण ५६१ मिटर खनिएको छ। दुवैतर्फको पोर्टलबाट ६२ मिटर मात्र खन्दा सुरूङ आरपार हुन्छ,' उनले भने।
सम्झौतामा सन् २०२४ सेप्टेम्बर २३ सम्म ब्रेक-थ्रु गर्नुपर्ने भनिएको थियो। तर सरकारले 'मोबिलाइजेसन' रकम दिन र रूख कटानको स्वीकृतिका लागि ढिलाइ गरेकाले निर्माण कम्पनीले एक सय दिन समय थप गर्न माग गरेको थियो। थप गरिएको एक सय दिनभित्रै ब्रेक-थ्रु गर्ने अवस्थामा आयोजना पुगेको अधिकारीले बताए। मुख्य सुरूङ ब्रेक-थ्रु निर्माणको झण्डै ४० प्रतिशत काम सम्पन्न हुनेछ।
'पछिल्लो १० महिनामा मात्र करिब २९ प्रतिशत काम सम्पन्न भएको छ। त्यसैले निर्धारित समयभित्रै काम पूरा हुन्छ,' अधिकारीले दाबी गरे।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पाल्पाको दोभानसम्मको चार किलोमिटर सडक जोखिमपूर्ण मानिन्छ। त्यसमध्ये सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति हुन थालेपछि सुरक्षित आवागमनका लागि सुरूङमार्ग निर्माणको योजना अघि बढाइएको हो।
सबभन्दा अप्ठ्यारो र जोखिमयुक्त मानिने तिनाउ गाउँपालिका वडा नम्बर ३ माथिल्लो सिद्धबाबा मन्दिरअगाडिको पहरो हुँदै बनाइएको सुरूङको बीचबीचमा आपतकालीन द्वारकारूपमा तीन वटा बाइपास सुरूङ छन्। केही समस्या आइपरे निकासका लागि एक सय ५१ मिटर, एक सय ६१ मिटर र एक सय ३० मिटर लामो बाइपास सुरूङ खनिसकिएको छ।
त्यस्तै उत्तरतर्फ पोर्टलबाट एक हजार १०० वर्गमिटर र दक्षिणतर्फ दुई हजार ३०० वर्गमिटर स्क्वायर क्षेत्रमा स्लोप निर्माण गर्नुपर्ने छ। त्यसमध्ये उत्तरमा हालसम्म ४९५ र दक्षिणमा १४९५ वर्गमिटरमा निर्माण गरिएको छ।
सुरूङमार्ग निर्माण गरिएको चट्टान सहितको पहरोमा पनि सत्र हजार ६० वर्गमिटरमा स्लोप निर्माण गर्नुपर्ने छ। हालसम्म करिब २००० वर्गमिटरमा निर्माण भएको छ।
सडकभन्दा तल तिनाउ नदीतर्फको भागमा पनि एक हजार ८६० वर्गमिटमा स्लोप निर्माण गर्नुपर्ने छ। तर यहाँ अरूतिरको सकिएपछि मात्र काम सुरू हुनेछ।
सुरूङमार्गपछि दक्षिणतर्फको पोर्टलदेखि बुटवल चिडियाखोलासम्म ९१० मिटर र उत्तरतर्फको पोर्टलदेखि पाल्पाको दोभानतर्फ ५६० मिटर सडक दुई लेनमा निर्माण हुने छ। यही आयोजना अन्तर्गत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउन विभिन्न प्रविधिहरू प्रयोग गरी संरचना बनाउनुपर्ने सम्झौतामा उल्लेख छ।
आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुइटा आकस्मिक हेलिप्याड र दुइटा प्राविधिक भवन निर्माण हुने आयोजना प्रमुख अधिकारीले बताए।
हाल दैनिक करिब २ सय जना सुरूङभित्रकै काममा लागिरहेका छन्। मुख्य सुरूङ ब्रेक-थ्रु भएपछि भित्रको ढलान र सडक निर्माणसँगै सुरक्षित बनाउने काम पनि अगाडि बढाइने छ।
सम्झौता अनुसार २०८३ चैतभित्र काम सकिएपछि, त्यसपछिको पाँच वर्षसम्म मर्मत तथा सञ्चालनको काम पनि निर्माण कम्पनीले नै गर्नुपर्ने छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङ मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा छ।