बाढी-पहिरोले तहसनहस बनाएको बिपी राजमार्ग १३ दिनपछि सवारी साधन चलाउन मिल्ने भएको छ। बाढी-पहिरोले कटान गरेको खण्डमा खोलाको किनारैबाट ट्र्याक खोलेर बिपी राजमार्गको विच्छेदित खण्ड शुक्रबार जोडिएको हो। यद्यपि रोशी गाउँपालिका-११ स्थित पिप्ले खण्डमा शुक्रबार बिहान सुख्खा पहिरो खसेको छ।
पहिरोले सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको यात्रुवाहक बसलाई करिब २० मिटर बगाएको प्रहरीले जनाएको छ। त्यस्तै खोटाङबाट काठमाडौंतर्फ नै आउँदै गरेको ना १ ज ६८१७ नम्बरको जिप पुरेको थियो। पहिरोले छोपेर जिपको पछाडिको भाग मात्र देखिए पनि चालक सकुशल भएको प्रहरीले जानकारी दिएको छ।
उक्त पहिरो पन्छाउने काम भइरहेको र केही बेरमा राजमार्ग सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले सेतोपाटी जानकारी दिए।
गत असोज १० गतेदेखि १२ गतेसम्म तीन दिन कोशीदेखि लुम्बिनी प्रदेशसम्म परेको वर्षाले बिपी राजमार्गलाई क्षतविक्षत तुल्यायो। रोशी खोलाको शिरबाटै उत्पन्न भएको भेलबाढीले बिपी राजमार्गको २१ किलोमिटर सडक 'रिरूट' (अर्कोतिरबाट) गर्नुपर्ने अवस्थामा पुर्याएको सचिव शर्माले जानकारी दिए।
१३ दिनसम्म दिन-रात नभनी काम गर्दा राजमार्गको विच्छेदित खण्ड जोडन् ट्रयाक खोल्न सकिएको उनले बताए।
चौकीडाँडादेखि नेपालथोकसम्म मात्र होइन, खुर्कोटसम्मको खण्ड अधिकांश ठाउँमा क्षतिविक्षत थियो। कतिपय स्थानमा नदीले कटान गरेको थियो। कतिपय स्थानमा माथिबाट पहिरो आएर बसेकाले पन्छाउन दुरूह थियो।
सचिव शर्माले भने, 'खोला किनारको अधिकांश भाग नदीले कटान गरेकाले खोलैबाट बाटो बनाउनुपर्ने अवस्था थियो। त्यसैले दसैंअगाडि खोल्न असम्भवजस्तो पनि देखिएको थियो।'
तर चाडबाडका बेला, दसैंमा एकपटक मात्रै घर जान पाउने जस्ता यात्रुहरूको मर्का र सडक पूर्वाधारसमेत नहुँदा स्थानीयवासी समेतको जनजीवन कष्टकर हुने अवस्था देखेर रातविरात काम गरिएको शर्माले बताए।
दुई दिनको लगातारको झरीले ३९ वटा राजमार्गको ८११ स्थान अवरूद्ध तुल्याएको थियो। त्यसमध्येको जटिल खण्ड थियो — चौकीडाँडा-नेपालथोक।
काठमाडौंको 'लाइफ लाइन' नै टुटेकाले उपत्यका जोड्ने अधिकांश सडकका अवरोध हटाउन उपकरण र प्राविधिक परिचालन गर्नुपर्ने चुनौती थियो। बिपी राजमार्गमा थुनिएका यात्रुहरू भोकै, प्यासै, पैदलै हिँडिरहेका दृश्य; दायाँबायाँ पहिरो, तल उर्लिएको रोशीको रौद्र रूप; जीवनको याचना गरिरहेका चालक, सहचालक, सवारीधनीहरू र उनीहरूका परिवारको कारूणिक रूवावासीले जो कसैको मन कटक्क खान्थ्यो।
विच्छेदित सडक सञ्चालन गर्न सक्ने हो भने खोज, उद्धार र राहत व्यवस्थित गर्न सकिन्छ भन्ठानेर नै रातविरात नभनी जनशक्ति परिचालन गरिएको सचिव शर्माले बताए।
'देशका जीवन रेखातुल्य ३९ वटा राजमार्ग अवरूद्ध थिए। तिनका ८११ खण्डमा गाडी चलाउन नसकिने भएकाले सबै ठाउँमा एकैपटक उपकरण परिचालन गर्नुपर्ने बाध्यता थियो। कतिपय ठाउँमा उपकरण भएर पनि काम लाग्दैनथे। पर्खाल नै बनाउनुपर्थ्यो। सबै ठाउँका सडक उत्तिकै महत्त्वपूर्ण भएकाले अवरोध खुलाउनै पर्थ्यो,' उनले भने, 'त्यसकारण हामीले स्थानीय बजारमा भएका उपकरण लियौं। स्थानीय पालिकालाई पनि अनुरोध गर्यौं।'
सडक विभागले असोज १३ गतेदेखि नै बिपी राजमार्गलाई सञ्चालनमा ल्याउने प्रयास थालेको थियो। तर धुलिखेलदेखि नै पहिरो पन्छाएर अघि बढ्नुपर्ने अवस्था थियो। अवरोध पन्छाउँदै र छिचोल्दै चौकीडाँडा पुग्नै तीन दिन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले जानकारी दिए।
चौकीडाँडा पुगेपछि रोशीको रौद्ररूप देखेर काम कहाँबाट जाल्ने, ट्रयाक कता खनेर कता जोड्ने जस्तो अन्योल भएको उनले बताए।
'हामी प्राविधिकहरू बसेर छलफल गर्यौं। बीचमा क्रसर थियो, त्यसलाई बगाएर खोलाले धार परिवर्तन गर्दै धेरै नै कटान गरेको थियो। माटो हालेर पुर्दै बाटो बनाउन र सडकको रूप दिन सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं। त्यसैले उपकरणहरू खोलामा झारेर बगरैबगर ट्रयाक खन्नुको विकल्प थिएन। हामीले त्यसै गर्यौं,' उनले भने।
खुर्कोटपट्टिबाट पठाएको मेसिन यता आउन सक्ने अवस्था थिएन। हेलिकप्टर प्रयोग गरेर उपकरण एयरलिफ्ट गर्न नसकिने होइन, तर झन्झटिलो हुनाले विभागले उपकरण धमाधम खोलामा झारेर बगर सम्याउन थालेको उनले बताए। खोलाले अत्यधिक कटान गरेका ठाउँमा भित्ता काटेर सडकको आकार दिँदै गएको पनि उनले बताए।
यसरी काम गर्न साइटमा प्रथम श्रेणीका इञ्जिनियरसहितको कमान्ड नै तोकेर परिचालन गरिएको सचिव शर्मा बताउँछन्। उपलब्ध स्रोत, साधन र समयको अधिकतम उपयोग गर्ने र फिल्डमा खटिएको टोलीले तत्काल निर्णय लिन सक्ने अख्तियारी प्रदान गरेर काम गरिएको पनि उनले जानकारी दिए।
'साधनको सबभन्दा उपयुक्त र छिटो प्रयोग गर्ने गरी निर्देशन दिइएको थियो। अपरेटरको भरमा मात्रै होइन, प्राविधिक सहितको समूह अनिवार्य बस्ने र आपसमा समन्वय गरेर ट्रयाक खोल्दै जाने रणनीति बनायौं। हामीले सबै साइटमा सकेसम्म प्रथम श्रेणीका इञ्जिनियर (सुइ) नभए दोस्रो श्रेणी र सब-डिभिजनसम्मका इञ्जिनियरहरूलाई साइटमा खटायौं,' उनले भने।
कतिपय साइटमा आफैसमेत पुगेको सचिव शर्माले बताए।
'त्यसो गरेर खटाइसकेपछि हाम्रो योजनाअनुसार फिल्डमा खटिएका कर्मचारीहरू सफल हुँदै जानुभयो। केही ठाउँबाट हामीले उपकरण र प्राविधिकहरू निकाल्न पनि पायौं। कान्ति लोकपथ सञ्चालन गरेलगत्तै त्यहाँ खटाइएका मेसिन र प्राविधिकलाई बिपी हाइवेमा परिचालन गर्यौं,' उनले भने।
आफ्नो, अर्काको कार्यक्षेत्र नभनी देशलाई नै कार्यक्षेत्र बनाएर, भएका स्रोत-साधन र जनशक्ति परिचालन गर्दा छिटो नजिता निस्किएको पनि उनले बताए।
'अन्तिम अवस्थामा सारै जटिल ठाउँहरू, जहाँ खोलैबाट लैजाने, भित्ता काट्ने जस्ता एकदमै जटिल निर्णयहरू दिनुपर्ने थियो। त्यसका लागि बिहीबार बिहानै ६ बजे साइटमा पुगेर सबै मेसिनहरू परिचालन गर्यौं। हिजो दिनभरि बगर सम्याउने र भित्ता काट्ने आदि काम गरेपछि राति एक बजेसम्ममा मेसिन वारपार गराउन सफल भयौं।'
शुक्रबार बिहान भएपछि केही उबडखाबड खण्डहरू सम्याइएको र यो क्रम मध्य चाडबाडमा पनि निरन्तर चलिरहेको उनले बताए।
'सार्वजनिक यातायताको ग्राउन्ड क्लियरेन्स त्यति धेरै हुँदैन। अहिले सवारी साधनको तलको पाटपुर्जाले भुइँका ढुंगा नछोओस् भनेर बाटो मिलाइरहेका छौं,' उनले भने, 'अहिले पिप्लेमा एउटा सुख्खा पहिरो खसेको छ। क्रमशः झरिरहेकै छ। मेसिन राजमार्गमै तैनाथ छ। एकैछिनमा अवरोध हटाउँछौं।'
उनले फूलपातीको अघिल्लो दिनसम्म मन्त्रालयको काम भएकाले आफू साइटमा धेरै निस्किन नपाएको पनि बताए। बिहीबारदेखि भने साइटमै खटिएको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सचिव शर्मा सहित बिपी राजमार्ग खुलाउन लाग्ने सम्पूर्ण समूहलाई धन्यवाद दिएका थिए। उसले काम गर्न अझ उत्साह थपेको सचिव शर्माले बताए।
'हामीलाई प्रधानमन्त्रीबाट निरन्तर हौसला भइराख्यो। यसमा मन्त्रीहरूको पनि उत्तिकै भूमिका रह्यो। बेलिब्रिज राख्न र कान्ति लोकपथको अवरोध हटाउन नेपाली सेनाले अहम् भूमिका खेल्यो। गृहमन्त्रीज्यूदेखि सबै सुरक्षा निकाय र सांसदहरूले पनि फिल्डमै आएर सहयोग गर्नुभयो,' उनले सबैप्रति कृतज्ञता व्यक्त गरे।
यसमा बाढी-पहिरो प्रभावित क्षेत्रका नागरिकहरूको पनि अद्वित्तीय भूमिका रहेको उनले बताए।
सम्पूर्ण जायजेथा गुमाएर अलिकति खेत बँचेका नागरिकलेसमेत उदार भावना अभिव्यक्त गर्दै आफ्नै खेतबाट बाटो लैजान मद्दत गरेको उनले अनुभव सुनाए। तीनै तहका सरकार, नारिक समुदाय, बाढी-पहिरो प्रभावित क्षेत्रका स्थानीय सबैले एकजुट भएर काम गर्दा असम्भव ठानिएका काम फत्ते गर्न सम्भव हुने उदाहरण बिपी राजमार्ग बन्न पुगेको उनले बताए।
सचिव शर्माका अनुसार बिपी राजमार्गमा १३ दिनसम्म २०-२२ वटा उपकरण, ३ जनासम्म प्रथम श्रेणीका इञ्जिनियर (सुइ), २-३ जना सब-इञ्जिनियरहरू परिचालित थिए। अहिले ३९ वटा राजमार्गमध्ये अधिकांश सञ्चालनमा छन्। कतै अवरोध भइहाले तुरून्तै पन्छाउने गरी जनशक्ति विन्यास गरिएको छ।
त्यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत दोलालघाट खण्डको केही ठाउँमा अवरोध पन्छाउन बाँकी छ।
शुक्रबार पनि त्यहाँ काम भइरहेको छ र अवरोध छिट्टै हट्ने उनले बताए। अहिले ट्रयाक खोलेर राजमार्ग जोड्ने काम सकिएकाले सवारी चलाउन बाधा छैन। तर मनसुन नसकिएको र दसैं अवधिमा पनि पानी पर्ने प्रक्षेपित भएकाले सजगता भने अपनाउनुपर्ने बताए।
मनसुन याममा धेरै नै पानी परेकाले जमिन गलेको छ। सानै पानी पर्नेबित्तिकै पहिरो खस्ने सम्भावना उत्तिकै छ। राजमार्गको तलमाथि, दायाँबायाँ चिरा परेकाले सुख्खा पहिरो खस्न सक्छ। ठाउँठाउँमा खसिरहेकै छ। बिपी राजमार्गको पिप्लेमा त खसिसकेको छ। अन्यत्र पनि यसको सम्भावना बलियो छ।
बाढीले पुल बगाएका ठाउँमा कल्भर्ट हालेकाले सानी बाढीले पनि त्यसमा असर पुर्याउने र बगाउने समेत अवस्था छ। त्यसकारण बढी नै सतर्कता अपनाउनुपर्ने उनी बताउँछन्।
'अहिले बनाएको अस्थायी प्रकारको सडक सजगताका उपयोग गरौं। जोखिमयुक्त बाटाहरूमा कत्ति पनि हतार नगरौं,' शर्माले भने।
उनले दसैंको एकादशीको भोलिपल्टैबाट स्तरोन्नतिको काम सुरू गर्ने बताए। अहिले बनाएका ट्रयाक व्यवस्थित गर्दै थप सहज र सुरक्षित तुल्याउने पनि उनको भनाइ छ।
'सडक सहज र सुरक्षित बनाउन समय चाहिन्छ। त्यतिञ्जेल चालक र यात्रुहरूको अनुशासन आवश्यक हुन्छ। सभ्य र अनुशासित भयौं भने अहिले खुलाइएका ट्रयाक पनि गन्तव्य पुग्न सहयोगी हुनेछन्,' सचिव शर्माले भने।