ग्वार्को फ्लाइओभर यही असार मसान्तभित्र सञ्चालनमा आउने भएको छ।
चालु आर्थिक वर्षको असारभित्रै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यले जानकारी दिए।
उनकाअनुसार अहिलेसम्म ग्वार्को फ्लाइओभरको ७० प्रतिशत काम सकिइसकेको छ भने अन्य ३० प्रतिशत काम असारमा सकिसक्ने योजना छ।'
अहिले स्लोप बनाउने, पर्खाल लगाउने, ढलान गर्ने, फिनिसिङ गर्ने लगायतका काम बाँकी रहेको उनी बताउँछन्।
यस आयोजना निर्माणको काम २०८० फागुन १२ गतेभित्र सकिसक्नु पर्ने भएता पनि उक्त अवधिमा सकिएको छैन।
सुरूको डिजाइन परिवर्तन गर्नुपरेकै कारण तोकिएको अवधिमा निर्माण नसकिएको निर्माण प्रमुख शाक्यले बताउँछन्।
अहिले निर्माण कम्पनीले म्याद थपका लागि प्रस्ताव गरेको छ। म्याद थपको फाइल सडक विभागमा पुगेको केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले बताए।
यो आयोजनाको ठेक्का इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको हो। इपिसी मोडलमा ठेकेदार स्वयमले डिजाइन गरी निर्माण गर्ने गर्दछ।
निर्माण कम्पनीले म्याद थपका लागि प्रस्ताव गरेको छ भने उक्त फाइल सडक विभागमा पुगेको छ।
इपिसी मोडलमा विविध कारण लागत बढे पनि यसमा ठेकेदार नै जिम्मेवार हुनुपर्छ। यस्तो आयोजनाको काम तोकिएको अवधिमा नसकिँदा म्याद थप गर्नुपर्ने उपयुक्त कारण नभए सरकारले निर्माण कम्पनीलाई हर्जना तिराएर काम गर्न लगाउने व्यवस्था थियो।
अहिले सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनले भने म्याद सकिएका तर खरिद सम्झौताअनुसार काम चालु रहेका, खरिद सम्झौतामा डिजाइन परिवर्तनलगायत विभिन्न कारणले तोकिएको अवधिमा काम नसकिएका वा सकिने आधार नदेखिएका आयोजनाको म्याद थप गर्न सकिने व्यवस्था गरेको छ।
सो व्यवस्था अनुसार निर्माण कम्पनीले १० महिना म्याद थपका लागि प्रस्ताव गरेको छ। १० महिना भनेको २०८० फागुनदेखि २०८१ पुससम्म हो। विभागले म्याद थपको निर्णय भने गरिसकेको छैन। अब म्याद थप नभएको अवस्थामा मात्रै हर्जना लाग्ने सिडिई महर्जनले बताए।
'मुख्य काम त असार मसान्तसम्म सक्ने भन्ने प्रतिवद्धता आयोजनाले गरेको छ। १० महिना म्याद माग्नुको कारण चाहिँ अरू साना–साना कामहरू सबै सकाउनु पर्ने भएर हो। जस्तै ट्राफिक लाइटहरू हाल्ने, पेन्टिङहरू गर्ने, सडकपेटी बनाइदिने त्यस्ता कामहरू भइराख्छन्। जसका लागि १० महिना मागेको हो,' उनले भने।
फ्लाइओभरको डिजाइनमा त्रुटि हुँदा केही समय मुख्य निर्माणको काम रोकिएको थियो। फ्लाइओभर निर्माण स्थलको माटो कमजोर भएका कारण पिलरको फाउन्डेसन(जग) जमिनमुनी ३४ मिटर गाड्नुपर्ने थियो।
३४ मिटर तल गाड्नलाई जमिनमुनी केसिङ (ढलान गर्दा राख्ने फर्मा जस्तो) राख्नुपर्नेमा त्यस्तो केसिङ राख्नका लागि आवश्यक उपकरण नेपालदेखि भारतसम्म पनि नपाइएकाले अनुकुल हुने गरी डिजाइन परिवर्तन गरिएको केन्द्रको भनाइ छ।
उपत्यकामा धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि चर्चामा रहेको फ्लाइओभर२०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको हो। निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य थियो।
यस्तो फ्लाइओभरनेपालमै पहिलो पटक बन्न लागेको हो। यसमा पिलर प्रयोग हुँदैन। स्लोप (भिरालो) पारेर हाइट (उचाइ) बनाउने र ओभरहेड ब्रिज रहन्छ। चक्रपथ सडकको फास्ट ट्र्याकमा यस्तो स्लोप रहन्छ।
ग्वार्को चोकबाट पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने छ।
यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। यसरी कुल ५४० मिटरको फ्लाइओभरनिर्माण हुन लागेको हो। स्लोपको चौडा १६ मिटर रहन्छ। फ्लाइओभरचार लेनकै रहन्छ। बीचका लेनमा फ्लाइओभररहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहने छ।
फ्लाइओभरनिर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने शाक्य बताउँछन्। यस्तै ग्वार्को चोकबाट वारपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनीबाट गुड्ने हुँदा जाम नहुने उनको भनाइ छ।
सडक विभागले २०७८ सालमा फ्लाइओभरनिर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो। निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ। यो फ्लाइओभर१७ करोड ६ लाख रुपैयाँमा ठेक्का लागेको हो। निर्माण सकिएको पाँच वर्षसम्म मर्मतसम्भारको काम पनि ठेकेदारले नै गर्नुपर्नेछ।