धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङ छिचोलिने मिति धकेलिएको छ।
यसअघि आयोजनाले आज (फागुन २३) गते मुख्य सुरूङ छिचोल्ने मिति तोकेको थियो।
स्थानीयको अवरोधका कारण सबै काम ठप्प हुँदा आज सुरूङ छिचोल्न नसकिएको आयोजनाका उपनिर्देशक गोविन्द डुमरूले बताए।
'स्थानीयहरूले विभिन्न माग राखेर काम ठप्प पार्नु भएको छ। सुरूङमार्ग माथिका घरहरूको पनि मुआब्जा माग गरिरहनु भएको छ,' उनले भने।
आयोजनाले सुरूङमार्ग माथिका घरहरू अधिग्रहण गर्ने र मुआब्जा दिने योजना लिएको छैन।
सुरूङ खन्ने क्रममा केही ठाउँमा भासिएको र आफ्नो घरजग्गामा बस्न योग्य नभएको भन्दै स्थानीयले सुरूङमार्ग माथिका घरहरूको पनि मुआब्जा माग गरिरहेका छन्।
उनीहरूले सुरूङमार्ग प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग राखेका छन्। फागुन ६ गतेदेखि आयोजनाको सबै काम ठप्प भएको डुमरूको भनाइ छ।
आयोजनाका कारण खानेपानीका स्रोत सुकेकाले अब आयोजनाले सधैंका लागि खानेपानीको स्रोत व्यवस्था गरिदिनुपर्ने माग उनीहरूको छ।
'अहिले पनि आयोजनाले खानेपानी स्रोत व्यवस्था गरिदिएको छ। तर यो पछिसम्म आयोजनाले नै गरिदिनुपर्छ भन्ने माग उहाँहरूको छ। आयोजना त अस्थायी हुन्छ पछिसम्म कसरी गर्छ?,' उनले भने।
उपनिर्देशक डुमरूका अनुसार अब आयोजनाको मुख्य सुरूङ १४ मिटर खन्न बाँकी छ। १४ मिटर खनेपछि सुरूङ छिचोलिन्छ। तर स्थानीयको अवरोधका कारण काम कहिलेसम्म सकिन्छ भन्ने यकिन छैन।
यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ रहन्छन्। मुख्य सुरूङको लम्बाई २.७ किलोमिटर (२६८८ मिटर) छ। रेस्क्यु सुरूङको लम्बाई २५५७ मिटर छ। यो सुरूङ ब्रेक थ्रु भइसकेको छ।
रेस्क्यु सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ। रेस्क्यु सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ। यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँछन्।
मुख्य सुरूङ र रेस्क्यु सुरूङमा विभिन्न सात ठाउँमा क्रस प्यासेज राखिएको छ। सुरूङभित्र दुर्घटना भएको अवस्थामा वा अन्य आपतकालीन अवस्थामा ती क्रस प्यासेजबाट एम्बुलेन्स तथा दमकल जस्ता साधन आवतजावत गर्न सक्छन्।
आयोजनाको मुख्य सुरूङमा सवारी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ। जसमा दायाँबायाँ साढे तीन/तीन मिटर र बीचमा तीन मिटर सडक छुट्टाछुट्टै रेखांकन गरिएको हुन्छ। बीचको तीन मिटर दुवै तर्फका सवारी साधनले प्रयोग गर्न सक्छन्।
कुनै सवारी बिग्रियो भने पनि छेउमा अड्याएर राख्ने ठाउँ होस् र अन्य सवारी सजिलै आवतजावत गर्न सकुन् भनेर बीचमा तीन मिटर खाली राखिएको आयोजनाले बताएको छ।
सुरूङको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एक/एक मिटर उल्लेख गरिएको छ।
आयोजनामा तीन वटा अन्डरपास हुनेछन्। हाल तीन वटै पूरा भइसकेको आयोजनाले बताएको छ। त्यस्तै बक्स कल्भर्ट चार वटै निर्माण सकिएको छ। एउटा ओभरपास पनि निर्माण भइसकेको छ। तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको उल्लेख छ।
यो आयोजना विकासका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो। आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ (४२ महिना) भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।
कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको भन्दै ठेकेदार कम्पनी हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो।
उक्त अवधिमा पनि काम नसकिएपछि २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ। थपिएको अवधि पनि सकिन लागेको छ। फेरि म्याद थप गर्ने कुरा भइरहेको छ। तर कहिलेसम्मका लागि थपिन्छ भन्ने यकिन भइसकेको छैन।
तर अधिकारीहरूले एक वर्ष म्याद थप गरेर सवारी गुड्न पाउने गरी काम गरिने बताउँदै आएका छन्।
सुरूङ मार्गबाट कस्ता सवारी गुड्न पाउँछन्?
सुरूङ मार्ग बनिसकेपछि सबै किसिमका सवारी साधनले यहाँबाट गुड्न पाउने छैनन्। दुई पांग्रे (मोटरसाइकल स्कुटर) लाई सुरूङ मार्गबाट आवतजावत गर्न दिइने छैन। आयोजनाका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू, ग्यास बोकेका सवारी सुरक्षाका हिसाबले सुरूङबाट जान पाउँदैनन्।
यस्ता सवारी साधन अहिलेकै सडक प्रयोग गरेर गुड्नुपर्छ। त्यस्तै मापदण्डभन्दा बढी ठूलो आकार बनाएर सामग्री बोकेका मालबाहक ट्रकहरू पनि सुरूङ मार्ग प्रयोग गर्न पाउँदैनन्। सुरूङबाट मापदण्डअनुसार सामग्री बोकेका मालबाहक ट्रक, एम्बुलेन्स, दमकललगायत खतरारहित सवारी साधनहरू गुड्न पाउने छन्।
सुरूङ प्रयोग गर्ने सवारी साधनले छुट्टै शुल्क तिर्नुपर्नेः
सुरूङ मार्ग प्रयोग गर्ने सवारी साधनहरूले छुट्टै शुल्क तिर्नुपर्नेछ। सुरूङ प्रयोग गर्दा हुने समय तथा पेट्रोलियम पदार्थ बचतलाई आधार बनाइ शुल्क निर्धाण गरिने उल्लेख छ।
जाइकाले ऋण लगानी गर्दा नै पैसा कसरी उठाउने भन्ने कुरा उठेको थियो। टनेल प्रयोग गर्दा अर्थतन्त्रमा परेको प्रत्यक्ष र अप्रत्यक्ष लाभलाई आधार बनाएर शुल्क उठाउने र यसबाट क्रमशः ऋण तिर्ने कुरा सम्झौतामा छ।
आयोजनाको नियमित सञ्चालन खर्चका लागि पनि शुल्क उठाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
यो आयोजनाको कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराएको छ। यसको ब्याजदर ०.०१ प्रतिशत छ। ६ अर्बभन्दा बढी सरकारको लगानी छ। कुल लगानी २२ अर्बभन्दा बढी लाग्ने अनुमान छ।