मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँ खण्डको काम लगभग सकिएको छ ।
आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४१.५ किलोमिटर सडक पूर्ण रूपमा कालोपत्रे सकिएको छ। सडक सौन्दर्य र सुरक्षाको काम मात्र बाँकी छ।
चित्ताकर्ष सडक बनेकाले साना तथा हलुका सवारी बेपरवाह गुड्ने गरेका छन्। त्यसले सडक दुर्घटनाको जोखिम बढाएकाले ठाउँ ठाउँमा ट्राफिक संकेत चिह्न राख्नुपर्नेछ। उक्त खण्डमा ६० किलोमिटर प्रतिघन्टाको गतिमा मात्र सवारी गुडाउन पाइने आयोजना प्रमुख भण्डारी बताउँछन्।
मुग्लिन–पोखराअन्तर्गत पूर्वी खण्डको काम २०७८ वैशाख १५ गतेबाट सुरू भएको थियो। चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको उक्त आयोजना तीन वर्षभित्र पूरा गरिसक्नुपर्ने थियो। तर बेलैमा काम पूरा नहुने सरूवा रोगतुल्य समस्याले यो आयोजनालाई पनि गाँज्यो।
आयोजना प्रमुख भण्डारी भने सरकारी पक्षकै कमजोरीका कारण ठेकेदार राम्रोसँग परिचालन हुन नसक्दा ढिला भएको तर्क गर्छन्।
यसरी सडक निर्माणमा ढिलाइ हुँदै गएपछि ४५५ दिन म्याद थपिएको थियो। थपिएको अवधि असार २९ गते पूरा भएको छ। अहिलेसम्म शतप्रतिशत नभए पनि ९५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको भण्डारी बताउँछन्।
उनका अनुसार यो आयोजनाको लागत ६ अर्ब २१ करोड रूपैयाँ हो। त्यसमध्ये निर्माण कम्पनीलाई ७१ प्रतिशत भुक्तानी दिइसकिएको छ।
आगामी पाँच वर्षसम्म यो सडक निर्माण कम्पनीकै जिम्मामा रहनेछ। यसबीच बाटो बिग्रिए वा भत्किए सम्झौता रकमबाटै ठेकेदार कम्पनीले निर्माण गर्नुपर्नेछ। यसबाट राज्यलाई थप आर्थिक भार नपर्ने उनले बताए।
तस्बिरहरूः
















तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी