नेपालकै पहिलो आधुनिक सुरूङ मानिएको नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ अब ३० मिटर खनेपछि छेडिने छ।
आगामी फागुन २३ गते सुरूङ 'ब्रेक–थ्रु' का लागि आयोजनाले मिति तय गरिसकेको छ।
देशका अन्य विभिन्न भागबाट काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाका मानिने नागढुंगामा बनिरहेको यो सुरूङ मार्ग कस्तो बन्छ त भन्ने चासो धेरैमा छ।
यो सुरूङमार्ग हुँदै धादिङको सिस्नेखोलाबाट काठमाडौं बलम्बुसम्म पुग्न साढे पाँच किलोमिटर दूरी पर्छ। अहिले चलिरहेको सडकमार्ग हुँदै सिस्ने खोला बलम्बु साढे आठ किलोमिटर दूरी छ।
दूरीका हिसाबले सुरूङ मार्ग र सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरूङ मार्गको प्रयोगबाट समयसँगै पेट्रोलिम पदार्थको पनि बचत हुने आयोजनाको जापानिज परामर्शदाता कम्पनी निपोनका संयोजक रमेश कोइराला बताउँछन्।
'दूरी हिसाब गर्दा तीन किलोमिटरको मात्रै फरक छ। तर यो सडकमार्गमा दिनहुँ घण्टौं जाम हुने गर्दछ। सुरूङ मार्ग प्रयोग गर्दा त्यो घण्टौं जाम झेल्नु पर्दैन। जामै नहुँदाको अवस्थामा पनि सुरूङ मार्गबाट ३५ मिनेट छिटो पुगिन्छ,' उनले भने
त्यहाँ हुने जाम हटाउनकै लागि विकल्पका रूपमा सुरूङ मार्ग निर्माण थालिएको हो।
यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार(रेस्क्यु) गरी दुइटा सुरूङ रहन्छन्। मुख्य सुरूङको लम्बाई २.७ किलोमिटर (२६८८ मिटर) छ। रेस्क्यु सुरूङको लम्बाई २५५७ मिटर छ। यो इभ्याकुएसन सुरूङ ब्रेक थ्रु भइसकेको छ।
'मुख्य सुरूङको दुवैतर्फ सवारी साधन हुन्छन्। दुर्घटना भइहाल्यो भने त तुरून्तै उद्धार गर्नुपर्यो। त्यसका लागि रेस्क्यु सुरूङ बनाएका हौं,' परामर्शदाता कम्पनी संयोजक कोइरालाले भने।
रेस्क्यु सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ। रेस्क्यु सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ। यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँछन्।
मुख्य सुरूङ र रेस्क्यु सुरूङमा विभिन्न सात ठाउँमा क्रस प्यासेज राखिएको छ। सुरूङभित्र दुर्घटना भएको अवस्थामा वा अन्य आपतकालीन अवस्थामा ती क्रस प्यासेजबाट एम्बुलेन्स तथा दमकल जस्ता साधन आवतजावत गर्न सक्छन्।
आयोजनाको मुख्य सुरूङमा सवारी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ। जसमा दायाँबायाँ साढे तीन/तीन मिटर र बीचमा तीन मिटर सडक छुट्टाछुट्टै रेखांकन गरिएको हुन्छ। बीचको तीन मिटर दुवै तर्फका सवारी साधनले प्रयोग गर्न सक्छन्। कुनै सवारी बिग्रियो भने पनि छेउमा अड्याएर राख्ने ठाउँ होस् र अन्य सवारी सजिलै आवतजावत गर्न सकून् भनेर बीचमा तीन मिटर खाली राखिएको आयोजनाले बताएको छ। सुरूङको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एक/एक मिटर उल्लेख गरिएको छ।
आयोजनामा तीन वटा अन्डरपास हुनेछन्। हाल तीन वटै पूरा भइसकेको आयोजनाले बताएको छ। त्यस्तै बक्स कल्भर्ट चार वटै निर्माण सकिएको छ। एउटा ओभरपास पनि निर्माण भइसकेको छ। तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको उल्लेख छ।
खत्री पौवामा यस्तो बन्नेछ रोड साइड सर्भिस स्टेसनः
योजना अनुसार खत्रीपौवामा 'रोड साइड सर्भिस स्टेसन' रहन्छ। काठमाडौंबाट बाहिरिने तथा भित्रिने यात्रुहरूका लागि कनेक्सन पोइन्ट हुने गरी स्टेसन बनाइने योजना छ।
यो स्टेसन एउटा पार्क जस्तै डिजाइन गरिएको छ। यात्रुहरूको विश्राम स्थलका रूपमा डिजाइन गरिएको यो स्टेसनमा रेस्टुरेन्ट, पार्किङ स्थल, शौचालय रहन्छन्। त्यहाँका स्थानीयले आफ्नो उत्पादन पनि बिक्री गर्न सक्छन्।
त्यहाँका स्थानीय बासिन्दाहरूलाई आयोजनाबाट के फाइदा त भन्ने प्रश्नको जवाफ यो स्टेसनले दिने कोइराला बताउँछन्।
'स्थानीयले यहाँ फलेको दुई मुठा साग, भाले वा जे सुकै होस् आफ्नो उत्पादन बेच्न सकोस् भन्ने योजना हो,' कोइरालाले भने।
तर स्टेसन डिजाइन गरिएको स्थानमा जग्गा विवादका कारण समस्या भइरहेको उनले बताए। विवाद भइरहे यस्तो स्टेसन बनाउन नसकिने उनको भनाइ छ।
'पहिले उक्त स्थानमा मुग्लिनबाट काठमाडौं आउने सडक पर्दो रहेछ। २०३६ सालमा सडक फेरिँदा त्यहाँ मानिसहरू बसोबास गरेछन्। जग्गा सडक विभागको हो कि व्यक्तिको भन्ने विवाद छ, जसले गर्दा काम हुन सकेको छैन,' उनले भने।
यो ठाउँको विवाद मिलाउन सबै सरोकारवालाले पहल गर्नु आवश्यक रहेको पनि उनले बताए।
सुरूङ छेडिएको एक वर्षपछि सवारी गुड्न पाउनेः
सुरूङ छेडिने बित्तिकै सवारी साधन गुड्न पाउँछ त? धेरैको जिज्ञासा छ। तर सुरूङ छेडिएपछि थप एक वर्षपछि मात्रै सवारी साधन गुड्न पाउने गरी निर्माण सकिने आयोजनाले बताएको छ।
आयोजना निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद करिब दुई महिनामा सकिँदैछ। दुई महिनाभित्र सबै काम पूरा हुने अवस्था छैन। मंगलबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा पनि आयोजना प्रमुख गोविन्द डुमरूले सबै काम सकिन एक वर्ष लाग्ने बताए।
यो आयोजना विकासका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो। आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ (४२ महिना) भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।
कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको भन्दै ठेकेदार कम्पनी हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो। उक्त अवधिमा पनि काम नसकिएपछि २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ।
'पछिल्लो पटक १२ महिना म्याद थप गरी ५४ महिना बनाइएको छ। ५४ महिनामा पनि सकिँदैन। अझै एक वर्ष चाहिन्छ,' परामर्शदाता कम्पनीका संयोजक कोइरालाले भने।
सुरूङ मार्गबाट कस्ता सवारी गुड्न पाउँछन्?
सुरूङ मार्ग बनिसकेपछि सबै किसिमका सवारी साधनले यहाँबाट गुड्न पाउने छैनन्। दुई पांग्रे (मोटरसाइकल स्कुटर) लाई सुरूङ मार्गबाट आवतजावत गर्न दिइने छैन। आयोजनाका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू, ग्यास बोकेका सवारी सुरक्षाका हिसाबले सुरूङबाट जान पाउँदैनन्।
यस्ता सवारी साधन अहिलेकै सडक प्रयोग गरेर गुड्नुपर्छ। त्यस्तै मापदण्डभन्दा बढी ठूलो आकार बनाएर सामग्री बोकेका मालबाहक ट्रकहरू पनि सुरूङ मार्ग प्रयोग गर्न पाउँदैनन्। सुरूङबाट मापदण्डअनुसार सामग्री बोकेका मालबाहक ट्रक, एम्बुलेन्स, दमकललगायत खतरारहित सवारी साधनहरू गुड्न पाउने कोइरालाले बताए।
सुरूङ प्रयोग गर्ने सवारी साधनले छुट्टै शुल्क तिर्नुपर्ने:
सुरूङ मार्ग प्रयोग गर्ने सवारी साधनहरूले छुट्टै शुल्क तिर्नुपर्नेछ। सुरूङ प्रयोग गर्दा हुने समय तथा पेट्रोलियम पदार्थ बचतलाई आधार बनाइ शुल्क निर्धाण गरिने उल्लेख छ।
'जाइकाले ऋण लगानी गर्दा नै पैसा कसरी उठाउने भन्ने कुरा उठेको थियो। टनेल प्रयोग गर्दा अर्थतन्त्रमा परेको प्रत्यक्ष र अप्रत्यक्ष लाभलाई आधार बनाएर शुल्क उठाउने र यसबाट क्रमशः ऋण तिर्ने कुरा सम्झौतामै छ,' कोइरालाले भने।
आयोजनाको नियमित सञ्चालन खर्चका लागि पनि शुल्क उठाउनुपर्ने आवश्यकता रहेको उनले बताए।
यो आयोजनाको कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराएको छ। यसको ब्याजदर ०.०१ प्रतिशत छ। ६ अर्बभन्दा बढी सरकारको लगानी छ। कुल लगानी २२ अर्बभन्दा बढी लाग्ने अनुमान छ।