सिद्धबाबा सुरूङमार्ग निर्माणलाई तीव्रता दिन भनेर आयोजनाले पुस १६ गतेदेखि २ चरणमा गरी सय दिनसम्म दैनिक ६ घन्टा बुटवल-दोभान सडकखण्डमा सवारी साधन बन्द गरेको छ।
सुरूङमार्गको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टनेल तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो भएको र सवारी आवतजावत गर्दा काम गर्न समेत अवरोध भएको भन्दै राती १० बजेदेखि बिहान ४ बजेसम्म बुटवल दोभान सडकखण्डको आवतजावत बन्द छ।
सडक बन्द गरेर काम गरिए पनि सुरूङ निर्माण अपेक्षाकृत प्रगति भएको छैन। सुरूङमार्ग निर्माण क्षेत्रभित्र पर्ने रूख काट्ने अनुमति नपाउँदा कामको प्रगति हुन नसकेको आयोजनाले जनाएको छ।
सडकको माथि रहेको चट्टाने पहरा फोरेर अहिले सुरूङमार्ग निर्माणको काम भइरहेको छ। सोही चट्टान सहितको पहरामा विभिन्न प्रजातिका ३० वटा पोथ्रा रूख छन्।
आयोजनाका अनुसार सुरूङमार्गको दुबै तर्फको पोर्टल, सुरूङमार्ग बाइपास टनेल तथा स्लोप क्षेत्रको समेत काम गर्दा त्यहाँ उत्पन्न हुने कम्पन तथा थर्कनले बाहिरी भागमा रहेका चट्टानहरू झर्ने जोखिम रहन्छ। त्यसैले यी काम गर्नुभन्दा पहिले ढुंगा खस्ने सम्भावित पहरोमा रहेको बुट्यान हटाएर रकसेट गरी सुरक्षित गर्नुपर्छ। तर रूख कटानको स्वीकृति नपाउँदा रकसेट गर्न रोकिएको छ।
आयोजनाका इन्जिनियर सविता ज्ञवालीका अनुसार रूख कटान गर्दा र रकसेट गर्दा पहरोबाट ढुंगाहरू झर्नसक्ने भएकोले सो अवधिमा सडकको आवागमन बन्द गर्नुपर्ने हुन्छ। यसपटक सडक बन्द गरिएको अवधिमा रूख कटानको स्वीकृति नभए पुन: सडक बन्द गर्नुपर्ने अवस्था आउने आयोजनाले जनाएको छ।
इन्जिनियर ज्ञवालीले रूख कटानको अनुमतिको लागि केही महिना पहिले नै वन विभागमा पत्र पठाएको बताइन्।
ज्ञवालीले रूख कटानको स्वीकृतिको लागि विभागबाट डिभिजन वन कार्यालय पाल्पालाई पत्र पठाएको भनिए पनि तिनाउ सव डिभिजन वन कार्यालय दोभानमा आएर उक्त पत्र रोकिएको बताइन्।
‘आयोजनाबाट धेरै पहिले नै विभागमा रूख कटानको स्वीकृतिका लागि पत्र पठाएका थियौं, विभागले स्वीकृतिसहित डिभिजन वन कार्यालय पाल्पालाई पत्र पठाएको छ भन्ने जानकारी पाएका थियौं, तर दोभानमा आएर रोकिएको छ,’ उनले भनिन्।
इन्जिनियर ज्ञवालीले रूख कटानको स्वीकृति पाए अहिले लागू गरिएको सडक बन्दकै समयमा बुट्यान सफा गरी रकसेट गर्न सहज हुने बताइन्।
डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत संयोग बस्नेतले भने आयोजनाले ढिलो गरी प्रक्रिया सुरू गरेकोले रूख कटानको स्वीकृतिको लागि पनि केही ढिलाइ भएको बताए।
‘पहिले सिद्धार्थ राजमार्गको क्षेत्राधिकारभित्रै पर्ने भएको भोगाधिकार लिन नपर्ने भएकोले समस्या नहोला भन्ने थियो, ‘त्यही भएर पनि सुरूमै प्रक्रिया अगाडि बढाउनुभएन होला। दुई महिना अघि मात्रै स्वीकृतिका लागि विभागमा निवेदन दिनुभएको थियो। विभागबाट स्वीकृति सहितको पत्र आइसकेकाले अबको एक डेढ हप्ताभित्रै आयोजनालाई स्वीकृति दिन्छौं,’ बस्नेतले भने।
बस्नेतले सडकको क्षेत्राधिकार भित्रका रूखहरू भए पनि काट्नुभन्दा पहिले वन कार्यालयबाट टाँचा लगाउनुपर्ने र विभागबाट अनुमति पाइसकेकोले केही दिनभित्रै आयोजनालाई रूख कटानको स्वीकृति दिने बताए।
सिद्धबाबा राजमार्गको सिद्धबाबा खण्डमा झर्ने चट्टान सहितको पहिरोले हरेक वर्ष आठ दस जना मानिहरूको ज्यान जाने तथा ठूलो आर्थिक क्षति हुने गरेको भन्दै सडकको सुरक्षित आवागमनको लागि सुरूङमार्गको योजना अगाडि बढाइएको हो।
सिद्धबाबा क्षेत्रको सबैभन्दा अप्ठ्यारो र जोखिम रहेको माथिल्लो सिद्धबाबा मन्दिरदेखि अगाडिको पहरोदेखि विद्युतको हेडवर्क्ससम्म एक हजार १२६ मिटर लम्बाइको सुरूङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का सम्झौता गरी काम गरिरहेको छ।
पाँच वर्षमा निर्माण सक्ने गरी २०७८ साल फागुनमा ठेक्का सम्झौता गरी सुरूङ मार्गको निर्माण कार्य सुरू गरिएको थियो। तर, ठेक्का सम्झौता भएको झण्डै दुई वर्ष हुन लाग्दा ४ प्रतिशत पनि काम पूरा भएको छैन। यद्यपि सुरूङ मार्ग निर्माणको काम भने गत असोजदेखि मात्रै अगाडि बढाइएको थियो। यसअघि सुरूङ मार्गको प्रवेश र निकास दुबै तर्फको पोर्टलमा पहिरोले क्षति पुर्याएपछि निर्माण कम्पनीले असोजदेखि मात्रै काम अगाडि बढाएको थियो। ठेक्का सम्झौता अनुसार २०८३ सालभित्रै निर्माण कम्पनीले सुरूङ मार्ग निर्माणको काम सक्नुपर्ने छ।
आयोजनाका इन्जिनियर ज्ञवालीका अनुसार अहिलेसम्म निर्माणको प्रगति जम्मा ३ दशमलव ८ प्रतिशत मात्रै भएको छ। सुरूङमार्गको विस्तृत अध्ययन, डिजाइन, विद्युत जडान, क्रसर प्लाण्ट, ल्याब र क्याम्प स्थापना लगायत गरी १० दशमलव २ प्रतिशत प्रगति भए पनि सुरूङ निर्माणको मुख्य काम दुबै तर्फका पोर्टल, बाइपास सुरूङ, स्लोप कटिङ लगायतका काम भने ३ दशमलव ८ प्रतिशत मात्रै पूरा भएको छ।
बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रकसेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने काम भइरहेको छ।
पाँच वर्षमा निर्माण सक्ने गरी २०७८ साल फागुनको अन्तिम साता ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले सुरूङमार्गको डिजाईनमै एकवर्ष समय खर्चिएको थियो। निर्माण सुरू भएको झण्डै एक वर्षको अवधिमा ४ प्रतिशत पनि काम सम्पन्न भएको छैन।
कम्पनीलाई बाँकी रहेको तीन वर्षको अवधिमा निर्माणको काम सम्पन्न गर्नुपर्ने ठूलो चुनौती छ। ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनिया कम्पनीले गर्नुपर्नेछ।
कुल ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएकोमा निर्माण कम्पनीले अहिलेसम्म १२ प्रतिशत रकम लगिसकेको छ। कुल लागतको १० प्रतिशत मोभिलाईजेसन अन्तर्गत पेश्की र काम गरेवापत २ प्रतिशत गरी ८८ करोड रुपैयाँ लगिसकेको ज्ञवालीले जानकारी दिइन्।
सुरूङ मार्ग निर्माणपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरुमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ ।
यता सुरूङमार्गको निर्माण सुस्त बन्दै गएपछि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कामलाई तीव्र बनाउन निर्माण कम्पनीलाई आग्रह गरेका छन्।
सुरूङ मार्गको निरिक्षण गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले जनताको आवागमनलाई रोकेर निर्माण गरिएको कामको प्रगतीबारे जनतालाई जानकारी गराउनुपर्ने बताए।
‘दैनिक ६ घण्टा आवागमन रोकेर गरिएको कामको प्रगती अन्य समयभन्दा धेरै हुनुपर्छ, जनतालाई सडक यसकारण बन्द गरिएको थियो भनेर जवाफ पनि दिनुपर्छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ थियो।