रूपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।
मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी प्रसारण लाइन चार्ज गरी सफल परीक्षण समेत गरिएको छ।
परीक्षण सफल भएसँगै अब यो प्रसारण लाइनबाट भारतमा विद्युत निर्यात गर्ने बाटो खुलेको हो।
भारतसँग विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा काठमाडौंबाट भर्चुअल विधिबाट उद्घाटन गरेका हुन्।
भारतको ठूलो राज्य उत्तर प्रदेशसँग पहिलो तथा छोटो १३२ केभीको लाइन रहेकोले यो लाइनबाट नेपालले अधिकतम विद्युत निर्यात गर्न सक्नेछ।
रूपन्देहीको सियारी गाउँपालिका वडा नंं २ मैनहियामा सबस्टेसन बनाएर भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसनमा प्रसारण लाइन जोडिएको हो। यसअघि उत्तर प्रदेशसँग भैरहवा र नेपालगञ्जबाट ३३ केभीको मात्र प्रसारण लाइनको संरचना थियो।
अहिले १३२ केभीको डबल सर्किट मैनहिया-सम्पत्तिया प्रसारण लाइन सञ्चालनमा ल्याइएको हो। उत्तर प्रदेशसँग जोडिएको यो नै सबैभन्दा ठूलो प्रसारण लाइन हो। अब, दुई देशले खरिद-बिक्रीको कानूनी मापदण्ड बनाएर विद्युत एकअर्का देशसित लैजान सक्नेछन्।
मैनहिया सबस्टेसनबाट भारततर्फको पूर्वाधारले साथ दिए तत्कालै १८० मेगावाटसम्म विद्युत बिक्री तथा खरिद गर्न सकिने नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख नवराज ओझाले बताए।
प्रसारण लाइनअन्तर्गत नेपालतर्फ ९६ र भारततर्फ ५ वटा टावर बनाइएको छ। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको मुआब्जासहित १ अर्ब २५ करोड रुपैयाँ लागतको यो आयोजना सिग्मा कोन ठेकेदार कम्पनीले निर्माणको लागि २०७७ मा ठेक्का सम्झौता गरेको थियो।
निर्माण कम्पनीले नेपालतर्फको २८ किलोमिटर लामो प्रसारण लाइनको काम १४ महिनामै सम्पन्न गरेको थियो। प्रसारण लाइनभित्र पर्ने एक हजार ७ सय घरपरिवारलाई जमिनको मुआब्जा समेत वितरण गरी सकिएको छ।
निर्माण सकिएपछि मैनहिया सबस्टेसनमा रहेका दुई वटा सर्किटमा भारतले उपलब्ध गराएका फरकफरक दुई वटा र नेपालका तर्फबाट छुट्टाछुट्टै चार वटा मिटर जडान गरिएको मैनहिया सम्पत्तिया १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए।
आयोजना प्रमुख पाण्डेका अनुसार विद्युत खरिदबिक्री गर्दा ती मिटरका आधारमा एकअर्का देशले भुक्तानी गर्ने छन्। विगतमा डबल सर्किटको ठूलो क्षमताको प्रसारण लाइन नहुँदा उत्तर प्रदेशसँग विद्युत व्यापार प्रभावकारी थिएन। अब भने प्रसारण लाइन सञ्चालनमा आएसँगै नेपाल-भारतबीचको अन्तरदेशीय विद्युत व्यापार थप सहज बनेको पाण्डेले बताए।
नेपाल जलस्रोतमा धनी भएकोले प्रशस्त विद्युत उत्पादन गरी भारतको उत्तर प्रदेशमा मात्रै बिक्री गर्न सके पनि यसले मुलुकको आर्थिक विकासमा महत्वपूणर्ण योगदान पुग्न सक्छ।