पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि चन्द्रौटासम्मको सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको छ।
२०२० सालमा निर्माण गरिएको यो सडक ६० वर्षपछि स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरिएको हो।
बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेदेखि चन्द्रौटा सम्म १९ किलोमिटर गरी ६९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको लागि बोलपत्र आह्वान गरिएको हो।
पहिलो खण्ड अन्तर्गत निर्माण गरिने बुटवलदेखि गोरुसिंगे सम्मको ५० किलोमिटर सडकलाई पनि २५/२५ किलोमिटरमा विभाजन गरी दुई प्याकेजमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिएको हो।
सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीका अनुसार सडक आयोजनाको डिजाइन समेत तयार गरि टेण्डर आह्वान गरिएको हो।
तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य सहित टेण्डर आह्वान गरिएको ६९ किलोमिटर सडक आयोजनामा २२ अर्ब लागत अनुमान गरिएको छ।
सडक स्तरोन्नतिका लागि सडक किनारमा गाडिएको विद्युतका पोल सार्न मात्रै ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। सडक निर्माणका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनीयर होमबहादुर एसीले सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वानसँगै साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयसँग समन्वय लगायतका काम भइरहेको बताए।
यस्तै वन कार्यालयसँग रुखमा नम्बर लगाई वन विभागबाट अनुमति लिएपछि रुख कटानको काम सुरू हुनेछ। साइट खुल्ला गर्ने र रुख कटानको लागि प्रक्रिया पुरा गरेपछि निर्माण कम्पनीलाई काम गर्ने बाटो खुल्ला हुने आयोजना प्रमुख एसीले जानकारी दिए।
बुटवलदेखि गोरुसिंगेसम्मको पहिलो खण्ड निर्माणको लागि ३० दिनको समय दिएर बोलपत्र आह्वान गरिएको हो। पहिलो खण्डको निर्माणको काम अगाडी बढेपछि गोरुसिंगेदेखि चन्द्रौटासम्मको १९ किलोमिटर सडकको डिजाइन तयार गरि बोलपत्र आह्वान गरिने एसीले जानकारी दिए।
सवारीसाधनको चापसँगै साँघुरो बन्दै गएको सडकको स्तरोन्नतिपछि सडकमा सवारीसाधन आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
हाल दुई लेनमा जीर्ण अवस्थामा रहेको सडकलाई स्तरोन्नति गरेर ४ लेनको बनाइने छ। डेडिकेटेड चारलेन सडकका विभिन्न ठाउँमा आठ लेन, ६ लेन, अण्डरपास र ओभरपास समेत निर्माण हुने आयोजनाले जनाएको छ।
वि.स २०२० सालमा तत्कालीन राजा महेन्द्र शाहले भारत, रुस र बेलायतको सहयोगमा पूर्वपश्चिम राजमार्ग निर्माण गरेका थिए। सोही कारण सडकको नामाकरण समेत महेन्द्र राजमार्ग राखिएको थियो।
निर्माण गरिएको ६० वर्षपछि सडकको स्तरोन्नतिको लागि बोलपत्र आह्वान गरिएपछि पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले खुसी व्यक्त गरेका छन्। रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले स्थानीय जनताको चाहना र राष्ट्रिय आवश्यकतालाई आत्मसात् गर्दै बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान हुनु सबैका लागि खुसीको विषय भएको बताएका छन्।
पौडेलले सामाजिक संजाल फेसबुकमार्फत सडक आयोजना समयमै सक्नुपर्ने सुझावसमेत दिएका छन्।
‘हामीकहाँ पूर्वाधार निर्माणका आयोजनाहरु निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न नहुने चिन्ताजनक अवस्था रहिआएको छ। विश्व बैंकको ऋण लगानीमा निर्माण हुने यस आयोजनाले यस्तो दुर्गति बेहोर्न नपरोस्,’ पौडेलले लेखेका छन्।
पौडेलले स्वस्थ एवं पारदर्शी प्रकृयाद्वारा सक्षम निर्माण कम्पनी छनोट हुनुपर्ने बताउँदै निर्धारित समय र लागतमा गुणस्तरीय निर्माण गर्न आग्रह गरेका छन्।
उनले जनप्रतिनिधि र जनस्तरबाट राम्रो कामका लागि सहयोग र गलत कामका लागि खबरदारी गरिने बताए।