पछिल्लो समय गर्मी बढेसँगै त्यसको असर उद्योग क्षेत्रमा देखिएको छ। उद्योगमा अहिले दैनिक १२ देखि १५ घन्टासम्म लोडसेडिङ खेपिरहेको उद्योगीहरूले बताएका छन्।
रिलायन्स स्पिनिङ मिल्सका उपाध्यक्ष महेश पोखरेलले उद्योगमा दैनिक १२ देखि १५ घन्टासम्म बिजुली गइरहेको बताए।
उनका अनुसार उद्योगमा बिजुली नपुग्ने समस्या पुसदेखि जेठसम्म चरम छ। असारदेखि मंसिरसम्म भने समस्या हुँदैन।
आधा वर्ष नै बिजुली समस्या भएपछि उद्योग चलाउनै मुश्किल भएको उनले बताए। निरन्तर बिजुली आपूर्ति नभए उद्योग बन्दै गर्नुपर्ने अवस्था पनि आएको उनले बताए।
'मौसमका आधारमा उद्योग चलाउन सकिँदैन, बन्द गर्छौं,' उनले भने।
इटहरीमा रहेको रिलायन्स स्पिनिङ मिल्स २६ वर्षदेखि सञ्चालनमा छ। यसले धागो उत्पादन गरेर टर्की, भारत लगायत देशमा निर्यात गर्छ। बंगलादेशमा पनि पठाउने तयारी छ।
निर्यातमूलक र रोजगारी दिने उद्योग बन्द हुँदा यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने उनी बताउँछन्।
'सबभन्दा बढी रोजगार दिने र निर्यातमूलक उद्योग हो यो,' पोखरेलले भने, 'उद्योग बन्द भयो भने यसको भार कसलाई पर्छ?'
रिलायन्सले चार हजारभन्दा बढीलाई रोजगारी दिएको उनले बताए।
सरकारले लोडसेडिङ अन्त्य भएको घोषणा गरेपछि पनि उद्योगहरूमा हिउँदको समयमा दुई घन्टादेखि बढीमा कहिलेकाहीँ सात घण्टा सम्म बिजुली गइरहेको थियो। तर यो वर्षको पुसदेखि नै आधा समय पनि बिजुली पाउन नसकेको उनले बताए।
'उद्योगका लागि १४ मेगावाट बिजुली चाहिन्छ,' उनले भने, 'रातिको सात-आठ घन्टासम्म मागअनुसारै पाइरहेका छौं। अरू बेला भने छैन।'
अहिले रातिबाहेकको समयमा पाइरहेको क्षमताको बिजुलीले उद्योग चलाउन त परै जाओस् त्यहाँ भएका सिएफएल बल्ब समेत बाल्न नपुग्ने उनी बताउँछन्। बिजुली नभएका बेला विकल्प डिजेल हो। तर अहिलेको अवस्थामा डिजेल किनेर चलाउन सकिने अवस्था नभएको उनले बताए।
बिजुली चलाउँदा प्रतियुनिट औसतमा १० रूपैयाँ पर्छ भने डिजेल चलाउँदा ४५ रूपैयाँसम्म पर्न जान्छ। उद्योगको समस्याबारे प्राधिकरणका निर्देशकदेखि प्रधानमन्त्रीसम्मलाई चिठी दिँदा पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे।
उद्योगलाई आवश्यक पानी, बिजुली दिनु राज्यको दायित्व भए पनि सरकार यसबाट पन्छिन खोजेको उनले बताए।
'सिजनमा मात्र बत्ती दिएर हुँँदैन। अफ-सिजनमा पनि उद्योगलाई बिजुली दिनु राज्यको दायित्व हो,' उनले भने, 'प्राधिकरणलाई मन लागेका बेला दिएर उद्योग चलाउन सकिँदैन।'
बत्ती तालिका दिए मात्रै पनि आफूहरूलाई श्रमिक व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ।
मेसिन चलिरहेका बेलामा एक्कासि बिजुली जाँदा मेसिन बिग्रिने समस्या पनि छ। काममा बारम्बार अवरूद्ध भएकाले धागोको माग पुर्याउन नसकिएको उनले बताए।
'बिजुली धेरै भयो भनेर विदेशमा बेचेका छन्। यहाँको उद्योगको अवस्था सरकारलाई थाहै छैन,' उनले भने।
उद्योग पूर्ण क्षमतामा चल्दा दैनिक एक सय २५ टन धागो उत्पादन भइरहेकामा अहिले ६० देखि ६५ टन उत्पादन भइरहेको छ।
बिजुलीकै समस्याले उद्योग चलाउन नसकेपछि पानी परोस् भनेर प्रार्थना गरेर बस्नुपरेको धरान प्लास्टिक उद्योगका निर्देशक मनोज अग्रवालले बताए।
'हामी त पानीका लागि इन्द्र भगवानको प्रार्थना गरिरहेका छौं,' उनले भने।
यो उद्योगले करिब दस वर्षदेखि पोलिथिन पाइप उत्पादन गर्दै आएको छ। उद्योगका लागि तीन सय किलोवाट बिजुली चाहिन्छ। अहिले त्यसको आधा पनि बिजुली नआएको उनले बताए।
'दिनमा ८ पटकसम्म बत्ती आउने, जाने भइरहन्छ,' उनले भने, 'यो अवस्थामा हामीले कसरी उद्योग चलाउने?'
दिनमा पटकपटक बिजुली काटिँदा बिजुली आएको समयमा बनाएका सामान समेत खेर जाने उनले बताए।
'पाँच मिटरको एउटा पाइप बनाउन लागेको हुन्छ। तीन मिटर नबन्दै बिजुली काटिन्छ। अनि त्यो पाइप काम लाग्दैन, खेर जान्छ,' अग्रवालले भने।
विगत १५ दिनदेखि लगायतार यो समस्या भोग्न थालेपछि उद्योगले डिजेल प्रयोग गर्न थालेको छ। डिजेलबाट सामान उत्पादन गर्न बिजुलीको तुलनामा तीन गुणा महँगो पर्छ। त्यसैले लागत समेत उठाउन नसक्ने अवस्था आएको उनी बताउँछन्।
आवश्यकता अनुसार बिजुली हुँदा दैनिक तीनदेखि चार टन पाइप उत्पादन हुँदै आएकामा अहिले एकदेखि डेढ टन मात्र उत्पादन भइरहेको उनले जानकारी दिए।
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले बिजुलीको चर्को समस्या भोगिरहेको उद्योग संगठन मोरङका महानिर्देशक चुणामणि भट्टराईले बताए। सुनसरी–मोरङ औद्योगिक करिडोरमा दुई सय मेगावाट बिजुली आवश्यकता छ। अहिले एक सय २० मेगागाट बिजुली मात्रै पाइरहेको उनले बताए।
'यो परिमाणको बिजुली पनि घरायसी रूपमा खपत हुन्छ,' उनले भने, 'उद्योगले त बिजुली नै पाउँदैन 'प्रसारणलाइन नभएपछि सरकारले बिजुली किनेर ल्याएर पनि दिन सक्दैन।'
संघले प्राधिकरणलाई लोडसेडिङको तालिका दिन आग्रह गरे पनि नदिएको उनको भनाइ छ। तालिका भए श्रमिक व्यवसस्थापन गर्न सहज हुन्छ।
'हामीले बुझेका छौं सरकारले चाहेर पनि बिजुली दिन सक्दैन,' उनले भने, 'बीचबीचमा लाइन काट्नुभन्दा सातामा पाँच दिन दिएर दुई दिन पूरा काटिदिए उद्योग चलाउन सहज हुन्थ्यो।'
संघले आगामी वर्षका लागि प्रसारणलाइन बनाउन आग्रह गरिरहेको छ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने पानी पर्न थालेसँगै बिजुलीको समस्या समाधान भएको बताए।
'केही दिनअघिसम्म उद्योगमा बिजुलीको समस्या थियो,' उनले भने, 'अहिले समाधान भइसक्यो।'
उनका अनुसार अत्यधिक गर्मीका कारण घरायसीमा बढी बिजुली खपत भएको थियो। त्यसले गर्दा उद्योगमा पुगेको थिएन। अब भने समस्या नहुने उनको दाबी छ।
'सिजनका बेला यहीँ उत्पादन भएको बिजुलीले माग धान्छ। अफसिजनमा भने बाहिरबाट किनेर ल्याउन पर्छ,' उनले भने, 'प्रसारणलाइन नबन्दा बिजुली किनेर ल्याएर पनि उद्योगीलाई दिन सकिएको छैन। प्रसारणलाइन बनाउन धेरै समस्या छ, बस्तीबाट लैजान मिल्दैन। बस्तीको समस्या समाधान गर्न गाह्रो भएको छ।'