सुनको मूल्य शुक्रबार तोलामै एक लाख ४९ हजार ९ सय रूपैयाँ पुग्यो। यो हालसम्मकै उच्च मूल्य हो।
शुक्रबार बिहानै एसियाली बजारमा सुन प्रति ट्रोय अन्स २४ सय ५० डलरमा किनबेच भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
व्यवसायीहरूले भने न्युयोर्कको बजार अनुसार सुन प्रतिऔंस २४ सय ५६.४० डलरको दरमा मूल्य लिएका छन्।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन।
नेपालमा रहेका सुन चाँदी व्यवसायी महासंघहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्।
नेपाली बजारमा पहिलो पटक २०७८ फागुन २२ गते सुनको मूल्य तोलाको एक लाख एक हजार नौ सय पुगेको थियो। त्यसयता २९ महिनामा सुनको मूल्य तोलामै ५० हजार रूपैयाँले बढेको हो।
अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर कटौती गर्ने सम्भावना रहेपछि मंगलबार नै विश्व बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा धेरैले वृद्धि भएको थियो।
बुधबार फेडको दुई दिने बैठक सकिँदा हाललाई ब्याजदर कटौती नगरिए पनि आगामी महिना सेप्टेम्बरमा यस्तो सम्भावना रहेको खबर सञ्चार माध्यमहरूमा आएका छन्।
अमेरिकी मूल्य वृद्धि दर घट्दै जाँदा फेडले ब्याजदर कटौती गर्ने सम्भावना बढेको हो। कोभिडकालीन समयपछि त्यहाँको मूल्य वृद्धि ९.१ प्रतिशतसम्म पुगेकोमा गत जुनमा ३ प्रतिशत हाराहारी आएको छ।
डलर कमजोर भयो र ब्याजदर कम भयो भने सामान्यतः सुनको मूल्य बढ्ने गर्छ। अहिले डलरको भाउ अवमूल्यन नभए पनि ब्याजदर घट्ने भएपछि सुनको मूल्य बढेको हो।
विश्व बजारमा सुनको मूल्य बढ्ने अन्य कारण पनि हुन्छन्। राजनीतिक तनाव, मुलुकहरूबीच द्वन्द्व बढ्दै जाँदा पनि सुनको मूल्य बढ्छ। यसअघि युक्रेन र रसिया युद्ध, इसराइल र प्यालेस्टाइनबीच भएको द्वन्द्वले पनि सुनको भाउ बढाउन मद्दत गरेको थियो।
द्वन्द्वमा फसेका मुलुकमा संकट पर्दा त्यो मुलुकको मुद्रा नचल्न सक्छ। तर, सुन अन्य सम्पत्तिको तुलनामा सजिलै किनबेच गर्न सकिने हुन्छ। सुनलाई 'सेफ हेभन' पनि भनिन्छ। अर्थात् अर्थतन्त्रमै समस्या आउँदा पनि सुनको मूल्य यथास्थितिमा रहन सक्ने वा बढ्न पनि सक्ने भएकोले यसलाई 'सेफ हेभन' भनिएको हो।
पछिल्लो समय विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले समेत सुनको भण्डारण गरिरहेका छन्।
डलरको विकल्पको रूपमा विभिन्न मुलुकले सुनको खरिदारी बढाइरहेका छन्। युक्रेन र रसिया युद्धको कारण युरोप र अमेरिकाले केही समयअघि रसियामा प्रतिबन्ध लगाएको थियो। रसियाले यही कारण डलरको विकल्पमा सुनको सञ्चिति बढाउँदै लगेको थियो।
यस्तै प्रतिबन्धमा पर्न सक्ने मुलुकहरूले पनि सुनको सञ्चिति बढाउँदै लाने गर्छन्।
चीनसहितका मुलुकका केन्द्रीय बैंकहरूले सन् २०२३ मा मात्रै एक हजार ३७ टन सुन किनेका थिए। सन् २०२४ को पहिलो त्रैमासमा मात्रै विश्वका केन्द्रीय बैंकहरूले २ सय ९० टन सुन किनिसकेको वर्ल्ड गोल्ड काउन्सिलले उल्लेख गरेको छ।
सन् २०२२ देखि यसरी बैंकहरूले सुन किन्न थालेका थिए। सन् २०२२ यता सन् २०२४ को पहिलो त्रैमासमा भएको चौथो पटक उच्च खरिददारी भएको बताइएको छ।
पछिल्लो १८ महिनामा उच्च खरिददारी गरिरहेको चीनले भने पछिल्लो सयम वाणिज्य बैंकहरूलाई सुन आयातमा कोटा लगाएर नियन्त्रण गर्न थालेको छ।
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार तथ्यांक उपलब्ध भएका एक सय १३ मुलुकका केन्द्रीय बैंकसँग अहिले ३२ हजार १ सय २७ टन सुन सञ्चित छ।
पछिल्लो समय नेपालमा सुनको मूल्य बढ्नुमा बढेको कर पनि हो।
गत आर्थिक वर्ष २०८०–८१ मा सुनमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा चालु आर्थिक वर्ष २०८१–८१ बाट २० प्रतिशत लाग्न थालेको छ। त्यसबाहेक बैंक र सुन व्यवसायीले करिब एक प्रतिशत शुल्क थप लिन्छन्। नेपालमा पनि सुन आयात बैंकबाटै हुने गरेको छ।
विवाहको सिजन नभएकोले अहिले बजारमा कारोबार ठप्प रहेको व्यवसायीहरू बताउँछन्।
'अहिले बजारमा किनबेच नै छैन,' नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, 'विवाह सिजन पनि होइन, त्यही भएर कारोबार नै ठप्प जस्तै छ।'
सुनको मूल्य अझै बढ्ने अनुमान विश्व बजारमा भने भइरहेको छ। कतिपयले यही सन् २०२४ अन्त्य अर्थात् आगामी पुससम्ममा सुन प्रतिऔंस तीन हजार डलरसम्म पुग्ने अनुमान पनि गरिरहेका छन्।
यस्तो भएमा नेपालमा सुन तोलाको एक लाख ८१ हजार रूपैयाँसम्म पनि पुग्न सक्छ।
सुनको तौल प्रतिऔंस बराबर ३१.१ ग्राम हुन्छ। सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔंस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ। त्यस्तै प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ। अहिले डलरको विनिमयदर एक सय ३३ रूपैयाँ छ।
यसरी एक तोला सुनको एक हजार एक सय २५ डलरसम्म पर्न सक्छ। यो भनेको एक लाख ४९ हजार ६ सय ४४ रूपैयाँ हुन आउँछ।
सरकारले लिने २० प्रतिशत भन्सार शुल्क, बैंक र व्यवसायीले लिने एक प्रतिशत थप शुल्कसहित प्रतितोला सुनको मूल्य एक लाख ८१ हजारसम्म पुग्न सक्छ।
तर, सबैले यस्तै प्रक्षेपण भने गरेका छैनन्। जेपी मोर्गन रिसर्चले सन् २०२४ को अन्त्यसम्ममा सुन प्रतिऔंस २५ सय डलर पुग्ने अनुमान गरेको छ। यसो भएमा भने प्रतितोला सुनको मूल्य एक लाख ५१ हजार हाराहारी मै रहन सक्छ।