सुनचाँदी व्यवसायीहरूले प्रत्येक वर्ष सुनको कोटा बढाउनका लागि निरन्तर लबिङ गर्दै आएका छन्। तर सरकारले विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या देखाउँदै पछिल्लो पटक सुनको कोटा घटाएको छ।
गत वर्षको फागुन अन्तिम साता नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गर्दै दैनिक १० किलो मात्रै सुन ल्याउन पाउने व्यवस्था गरेको हो।
त्यसअघि प्रतिदिन २० किलोसम्म सुन आयातको कोटा तोकिएको थियो।
२०६६ देखि सुनमा कोटा प्रणालीको व्यवस्था गरिएको हो। त्यस अघिसम्म व्यवसायीहरू आफैँ सुन आयात गर्थे। सो समयमा वैदेशिक मुद्रामा कमी आएपछि तत्कालीन वाणिज्य मन्त्रीले सुनमा कोटा लगाउने निर्णय गरे।
जसमा दैनिक १० किलो सुन मात्र ल्याउन पाइने व्यवस्था गरियो।
त्यसपछि वाणिज्य बैंकमार्फत सुन आयात भएर व्यवसायीहरूलाई वितरण हुन थाल्यो।
सरकारले व्यवसायीहरूलाई सुन वितरण गर्न सुन वितरण कार्यविधि-२०६८ कार्यान्वयमा ल्यायो। सोही कार्यविधि अनुसार सुन वितरण हुन्छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघ पूर्व अध्यक्ष तेज रत्न शाक्यका अनुसार कोटा प्रणाली सुरू भएदेखि अहिलेसम्म बढीमा दैनिक २५ किलोसम्म सुन भित्रिएको छ।
'सुनको कोटा कहिले बढ्ने कहिले घट्ने भइरहन्छ,' उनले भने।
अहिलेको परिमाणको सुनले बजारको माग धान्न मुस्किल परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन्।
'सिजनको बेला थप पाँच किलो बढाउन पाइने राष्ट्र बैंकको अधिकार छ तर बढाएको छैन,' उनले भने।
सुनचाँदीलाई कच्चा पदार्थ मानेर व्यवसाय गर्ने तीन महासंघ छन्। ती नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ हुन्।
तीमध्ये दैनिक आयात हुने परिमाणको ५० प्रतिशत सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले पाउँछ। त्यस्तै, ४५ प्रतिशत नेपाल सुनचाँदी रत्न तथा आभूषण र पाँच प्रतिशत नेपाल हस्तकला महासंघले पाउँछ।
त्यसअनुसार पाँच किलो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघको भागमा पर्छ।
अध्यक्ष शाक्यका अनुसार महासंघमा देशभर २५ हजार व्यवसायी छन्। ती व्यवसायीलाई पाँच किलो सुन भाग लगाउने हो भने एक व्यवसायीको भागमा दैनिक चार ग्राम सुन पर्छ।
'चार ग्राम सुनले हामीले कसरी व्यवसाय गर्ने,' उनले भने, 'कि त कोटा प्रणाली हटाउन पर्याे कि बढाउन पर्याे।’
सुनचाँदी व्यवसायीले पनि आफूलाई आवश्यक पर्ने कच्चा पदार्थ आफैँ मगाउन पाउनु पर्ने उनको भनाइ छ।
'सबै प्रकारका व्यवसायीले आफूलाई आवश्यक पर्ने कच्चा पदार्थ आफैँ आयात गर्न पाउने हामीले किन नपाउने,' उनले प्रश्न गरे।
अहिले बजारमा काचो सुन अभावले ग्राहकलाई कुराउनु परेको उनले बताए।
उनका अनुसार बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा काचो सुनको माग छ। त्यस्तै, अफ सिजनमा झण्डै १० देखि १५ किलो कच्चा सुनको माग छ।
बैंकबाट आउने सुन बाहेक विदेशबाट आउने नेपालीहरूले बिना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर एक सय ग्राम सुनका गहना ल्याउने पाइने सुविधाले केही सहज भएको उनले बताए।
'धेरै जसो चोरी पठारी भइरहेको छ। केही हदसम्म नेपालीहरूले विदेशबाट ल्याउने सुनले पनि बजार धान्न सहयोग गरेको छ,' उनले भने।
पछिल्लो समय यस प्रकारले ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने व्यवसायीहरूलाई पक्रने, अनावश्यक दुःख दिने कार्य भएको उनले गुनासो गरे।
'हाम्रो काम नै सुन किन्ने/बेच्ने हो। त्यो गर्दा हामीलाई किन प्रशासनले समात्ने,' उनले भने, 'त्यसरी कारोबार गर्ने पाँच जना व्यवसायीलाई समातेर लगेको मेरो जानकारीमा आएको छ।'