एक वर्षमा नेपाल टेलिकमका ग्राहक करिब २६ लाखले बढेका छन्।
२०७३ असार मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक १ करोड ५० लाख १५ हजार २६ रहेकोमा २०७४ असार मसान्तसम्ममा १७ दशमलव २३ प्रतिशतले बृद्धि भई १ करोड ७६ लाख २ हजार २०२ पुगेको छ।
सोही वर्षको अवधिमा टेलिकमका डाटा/इन्टरनेट प्रयोगकर्ता ८ लाख १८ हजारले बढेका छन्। २०७३ असार मसान्तसम्ममा डाटा/इन्टरनेट प्रयोगकर्ताको संख्या ७६ लाख ७ हजार ५६९ रहेकोमा २०७४ असार मसान्तसम्ममा १०. ७६ प्रतिशतले वृद्धि भई ८४ लाख २५ हजार ८९४ पुगेको छ।
प्रवन्ध निर्देशकको रुपमा कामिनीराज भण्डारी नियुक्त भएको एक वर्ष पुरा भएको अवसरमा उनले कार्यप्रगतिबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराएकी हुन्। गत असोज ६ गते भण्डारीलाई मन्त्रिपरिषद बैठकले प्रवन्ध निर्देशकको रुपमा नियुक्त गरेको हो।
गत आर्थिक वर्ष नेपाल टेलिकमले कुल ४४ अर्ब ८३ करोड आम्दानी गर्न सफल भएको छ। जुन अघिल्लो वषृको तुलनामा १. ४५ प्रतिशतले बढी हो। कुल खर्चमा भने मिव्ययिता अपनाउँदै ६.२४ प्रतिशतले घटाउन टेलिकम सफल भएको छ। कम्पनीको करपछिको खुद नाफा १५ अर्ब १ करोड छ। जसले गर्दा प्रतिसेयर आम्दानी पनि १ सय रुपैयाँ पुगेको छ।
अप्टिकल फाइबरमा दुरी कम गर्ने, नयाँ प्रविधिको प्रयोग गर्दै सरलीकरण गर्ने योजना टेलिकमले लिएको छ। पुराना प्रविधिका एक्स्चेन्जलाई ‘एक्स्सेस गेटवे’ले प्रतिस्थापन गर्नेगरी अघि बढेको टेलिकमले ९७ हजार लाइन प्रतिस्थापन गरिसकेको छ।
भण्डारीका अनुसार भ्वाइस कभरेज तथा थ्रीजी डाटा सेवा बढाउन एक वर्षको अवधिमा उच्च क्षमताको १२७८ बिटिएस संचालन भई पुरानो ५८० बिटिएस प्रतिस्थापन भएको छ। उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा हुम्ला जिल्लामा समेत वाइम्याक्स सेवा विस्तार गरी ७५ वटै जिल्लामा यो सेवा पुगेको उनले बताइन्।
वीर अस्पताल र त्रि.वि. शिक्षण अस्पतालमा टेलिकमले फ्री वाईफाई संचालनमा ल्याएको छ। ग्रामीण दूरसञ्चार कोष मार्फत मध्य पहाडी अप्टिकल फाइबर आयोजना कार्यान्वयनको क्रममा रहेको र मध्य पहाडी लोकमार्गको पुर्वी खण्डमा पर्ने पाँचथरको चियो भञ्ज्यांगबाट पश्चिममा धादिङ– गोरखाको आरुघाट सम्म बृहत साइट सर्भे सम्पन्न भएको टेलिकमले जनाएको छ।
कम्पनीमा रणनीतिक साझेदार भित्राउने सम्बन्धमा परामर्शदाता कम्पनी चयन गरी सम्झौता भएको छ।