आइएमई पे र खल्ती मर्ज भएर बिहीबार (साउन १ गते)बाट ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ।
बिहीबार एक कार्यक्रम आयोजना गर्दै दुई वालेट कम्पनी बीचको एकीकृत सेवा सञ्चालनबारे औपचारिक घोषणा गरिएको हो।
झन्डै एक दशकदेखि विभिन्न डिजिटल भुक्तानी सेवाहरू प्रदान गर्दै पहिचान बनाएका यी दुई वालेट कम्पनीले एक भई ‘खल्ती बाई आईएमई’ नाममा कारोबार सुरू गरेका छन्।
आइएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानी जस्ता सेवाहरूका लागि प्रख्यात छ। खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र इनोभेसनका कारण युवा पुस्ता माझ लोकप्रिय छ।
डिजिटल भुक्तानीले वित्तीय पारदर्शीता बढाउने भएकाले हरेक क्षेत्रमा यसको लागु हुन जरुरी भएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए।
आइएमई पेको यात्राले समावेशी वित्तीय सेवामा गहिरो आधार निर्माण भएको आइएमई पेका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए।
‘खल्तीसँगको एकताबाट बनेको आइएमई खल्तीले डिजिटल नेपालको सम्भावनालाई नयाँ गति दिनेछ,’ उनले भने।
खल्ती र आइएमई पेको एकता नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि एक ऐतिहासिक कदम रहेको खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले बताए।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अबको मिसन र भिजन बारे बताउँदै डिजिटल पहुँचलाई थप विस्तार गर्ने, डिजिटल साक्षरता अनि समावेशीकरणका लागि थप योजनाहरू बनाउने प्रतिबद्धता व्यक्त गरे।