नेपाल भित्रिएदेखि नै चिनियाँ ब्रान्ड शाओमीले राम्रो बजार पाएको छ। कम्पनीले विभिन्न सेगमेन्टको स्मार्टफोन उपलब्ध गराउने हुँदा पनि हरेक उमेर समूहका ग्राहकहरूमा यो ब्रान्डको फोन लोकप्रिय छ।
सन् २०१८ को सेप्टेम्बरदेखि नेपालमा शाओमीको फोन सार्वजनिक हुन थालेको हो। कम्पनीले नेपालभर रहेको करिब दुई हजार पाँच सय बढी रिटेलर र १७ वटा सर्भिस सेन्टरबाट ग्राहकहरूलाई सेवा दिइरहेको छ।
नेपालको लागि शाओमी फोनको आधिकारिक वितरक भत्सल इम्पेक्स प्रालि र टेलिडिरेक्ट प्रालि हो। भत्सल इम्पेक्सले उपत्यका भित्र र टेलिडिरेक्ट प्रालिले उपत्यका बाहिर शाओमी फोनको बिक्री-वितरण गर्दैछ।
अहिले शाओमीको स्मार्टफोनले कस्तो बजार पाइरहेको छ? नेपालको कुन-कुन ठाउँमा सर्भिस सेन्टर छ? शाओमीको फोन किन किन्ने? लगायतका विषयमा हामीले नेपालका लागि शाओमी टेक्नोलोजीको ब्रान्ड तथा मार्केटिङ प्रबन्धक प्रकाश सुवेदीसँग कुरा गरेका छौं। यस्तो छ ब्रान्ड तथा मार्केटिङ प्रबन्धक सुवेदीसँग सेतोपाटीको जुना श्रेष्ठले गरेको अन्तर्वार्ताको सम्पादित अंशः
शाओमीले नेपालमा कुन-कुन सेगमेन्टको फोन बिक्री गरिरहेको छ?
बजारमा शाओमीले शाओमी सिरिज, रेड्मी र पोको गरी तीन भर्टिकलमा स्मार्टफोन बिक्री गरिरहेको छ। शाओमी सिरिज प्रिमियम सेगमेन्टको फोन हो। कुनै पनि स्मार्टफोनमा 'मी' लेखिएको छ भने त्यो फ्यागशीप फोन अर्थात् शाओमीको प्रिमियम सेगमेन्टको फोन भन्ने बुझ्न सकिन्छ। बजारमा यो सिरिजको फोनको मूल्य ५० हजार रूपैयाँदेखि एक लाख ३० हजारसम्म पर्छ।
शाओमीको रेड्मी बजेट सेगमेन्टको फोन हो। रेड्मीको फोन ११ हजार नौ सय ९९ रूपैयाँदेखि ४० हजार रूपैयाँसम्म पर्छ।
फोनमा भएको विशेषताहरूले मूल्य निर्धारण गर्ने हो। शाओमीको समग्र बजारको ४० देखि ५० प्रतिशत हिस्सा रेड्मीको फोन ओगढेको छ।
त्यस्तै पोको गेमिङ सेगमेन्टको फोन हो। विशेषगरी युवा पुस्ताहरूमा यो फोन प्रख्यात छ। यसको मूल्य १५ हजार चार सय ९९ रूपैयाँदेखि ४३ हजार नौ सय ९९ रूपैयाँसम्म पर्छ।
शाओमीका ग्राहकहरू कुन समूहका छन्?
शाओमीको ग्राहक हरेक समूहका छन्। जो मानिसको आय स्रोत राम्रो छ र महँगो फोन खरिद गर्ने क्षमता राख्छन्, त्यस्ता ग्राहकहरू बढीजसो प्रिमियम सेगमेन्टको फोनमा आकर्षित देखिन्छन्। कमदेखि मध्य वर्गीय ग्राहकले रेड्मीको फोन रुचाइरहेका छन्। उपत्यका बाहिर पनि प्राय रेड्की सिरिजको फोन बिक्री बढी हुने गरेको छ। पोकोका फोन विशेष गेमिङको लागि उपयुक्त हुँदा यो युवा पुस्तामाझ लोकप्रिय छ।
शाओमीको फोन किन किन्ने?
शाओमी सही मूल्य, उत्कृष्ट विशेषता र उच्चतम गुणस्तर गरी मुख्य तीन स्तम्भमा विश्वास राख्छ। हामी ग्राहकहरूलाई किफायती मूल्यमा पर्याप्त विशेषताले भरिपूर्ण गुणस्तरीय फोन बिक्री गर्न चाहन्छौं। विभिन्न सेगमेन्ट र मोडलमा शाओमीका फोनहरू उपलब्ध छन्। ग्राहकहरूले आफूलाई आवश्यक पर्ने विशेषता भएको र आफ्नो बजेट क्षमताको फोन रोजेर खरिद गर्न सक्नुहुन्छ। धेरै विकल्प भएका कारण पनि ग्राहकहरूको लागि शाओमीको फोन उपयुक्त हुन्छ भन्ने लाग्छ।
शाओमीले मार्केटिङको लागि के-कस्तो रणनीति अपनाइरहेको छ?
शाओमीको फोनले 'वर्ड-अफ-माउथ' का कारण बजार पाइरहेको छ। अर्थात् कोही एक व्यक्तिले फोन खरिद गरिसकेपछि ती व्यक्तिले अन्य मानिसलाई फोन किन्न सुझाव दिने गरेको पाइन्छ। हामी मार्केटिङको लागि 'जिरो बजेट' रणनीतिमा छौं। ग्राहकहरूबाट आएको सकारात्मक प्रतिक्रियाहरूले नै बजारमा विस्तार हुँदैछौं।
नेपालभर कतिवटा सर्भिस सेन्टरहरू छन्?
नेपलाभर शाओमीको १७ वटा सर्भिस सेन्टरहरू छन्। ग्राहकहरूलाई सर्भिस सेन्टरबाट नै फोन खरिद, मर्मत लगायत सेवा लिन सल्लाह दिन्छौं। यसो हुँदा फोनको मर्मत समय पनि (जेन्युन) वास्तविक सामग्रीको प्रयोग हुन्छ। त्यस्तै दक्ष जनशक्तिले मात्रै फोन मर्मत लगायत काम गर्छन्। काठमाडौं, ललितपुर, भक्तपुर सहित नुवाकोट, हेटौंडा, बिर्तामोड, बुटवल, धनगढी, इटहरी, चितवन, नेपालगञ्ज, पोखरा, जनकपुर, दाङको विभिन्न ठाउँमा हाम्रो सर्भिस सेन्टर छ।
स्मार्टफोनबाहेक शाओमीले के-के सामग्री बिक्री गरिरहेको छ? शाओमीको उत्पादनहरू कहाँ खरिद गर्ने?
स्मार्टफोन र आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स, एआइओटी सामग्री जस्तै टिभी, राउटर, फोनका एक्सेसरिज जस्तै एयरफोन, डेटा केबल लगायत सामग्री पाइन्छ। शाओमीको सामग्रीहरू नेपालभर भएको कम्पनीको विभिन्न आउटलेट र अनलाइन सपिङ प्लेटफर्म दराज नेपालबाट पनि खरिद गर्न सकिन्छ।
सरकारले लागू गरेको एमडिएमएस प्रणालीप्रति कस्तो धारणा छ?
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम-एमडिएमएस प्रति हामी निकै सकारात्मक र सन्तुष्ट छौं। यसले अवैध रूपमा नेपाल भित्रने र अनधिकृत ढंगबाट हुने मोबाइल बिक्री वितरण रोक्न मद्दत गर्छ। यो नेपालको अर्थतन्त्र सुधारको लागि समेत राम्रो पहल हो।
यस्तो छ शाओमीको विभिन्न मोडलको बजार मूल्यः
क्र.म. | मोडलको नाम | मूल्य |
---|
१ | रेड्मी ए१ (२/३२ जिबी) | रू. १२,४९९ |
२ | रेड्मी ए१ प्लस (२/३२ जिबी) | रू. १२,९९९ |
३ | रेड्मी ए१ प्लस (३/३२ जिबी) | रू. १४,९९९ |
४ | रेड्मी १२ सी (३/३२ जिबी) | रू. १३,९९९ |
५ | रेड्मी १२ सी (४/६४ जिबी) | रू. १४,९९९ |
६ | रेड्मी १२ सी (६/१२८ जिबी) | रू. १७,४९९ |
७ | रेड्मी १० २०२२ (४/६४ जिबी) | रू. २१,४९९ |
८ | रेड्मी १० २०२२ (६/१२८ जिबी) | रू. २४,९९९ |
९ | रेड्मी नोट १२ (४/१२८ जिबी) | रू. २३,९९९ |
१० | रेड्मी नोट १२ (६/१२८ जिबी) | रू. २५,९९९ |
११ | रेड्मी नोट १२ (८/१२८ जिबी) | रू. २७,९९९ |
१२ | रेड्मी नोट १२ प्रो ५जी (६/१२८ जिबी) | रू. ३९,९९९ |
१३ | रेड्मी नोट १२ प्रो ५जी (८/२५६ जिबी) | रू. ४२,९९९ |
१४ | शाओमी १२ लाइट (८/१२८ जिबी) | रू. ५५,९९९ |
१५ | शाओमी १३ लाइट (८/२५६ जिबी) | रू. ५८,९९९ |
१६ | एमआई १३ प्रो (१२/२५६ जिबी) | रू. १,३०,९९९ |
१७ | पोको सी३१ (३/३२ जिबी) | रू. १५,४९९ |
१८ | पोको सी३१ (४/६४ जिबी) | रू. १६,९९९ |
१९ | पोको एम५ (४/६४ जिबी) | रू. २१,४९९ |
२० | पोको एम५ (६/१२८ जिबी) | रू. २४,९९९ |
२१ | पोको एम३ प्रो (४/६४ जिबी) | रू. २४,९९९ |
२२ | पोको एक्स५ प्रो (६/१२८ जिबी) | रू. ४०,९९९ |
२३ | पोको एक्स५ प्रो (८/२५६ जिबी) | रू. ४३,९९९ |