भायानेट कम्युनिकेसन प्रालिले सेवा सुरू गरेको झन्डै २५ वर्ष हुन लाग्यो। सन् १९९९ मा सुरू भएको कम्पनीले हाल इन्टरनेट र टेलिभिजन सेवा दिइरहेको छ। दुई लाख ५० हजारभन्दा धेरै ग्राहक छन्।
हालै मात्र कम्पनीले नेपालमा पहिलोपटक मल्टिगिग इन्टरनेट सार्वजनिक गरेको छ। एक्सजिएस फाइबर प्रविधिमा आधारित २ जिपिबिएस एक्सजिएस–एक्सट्रिम प्याकेजमार्फत दिइरहेको यो नयाँ सेवा कस्तो हो? भायानेटले ग्राहकलाई सुरक्षित र गुणस्तरीय सेवा दिन के गर्दैछ? यसका भावी योजनाहरू के हुन्?
यिनै र ग्राहक सेवासम्बन्धि प्रश्नहरू हामीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सेवा पाठकलाई सोधेका छौं।
सेतोपाटीका जुना श्रेष्ठले सिइओ सेवा पाठकसँग गरेको कुराकानीको सम्पादित अंशः
१. एक्सजिएस एक्सट्रिम के हो?
एक्सजिएस एक्स्ट्रिम अत्याधुनिक प्रविधि हो। एक्सजिएस-पिओएन अर्थात १०-गिगाबाइट सिमेट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर-अप्टिक ब्रोडब्यान्ड प्रविधि हो। यसले १० जिपिबिएसको डाउनलोड र सोही बराबरको अपलोड स्पिड दिन्छ।
नयाँ प्रविधिमार्फत अब ग्राहकले कुनै पनि सामग्री तीव्र गतिमा डाउनलोड वा अपलोड गर्न सक्नेछन्। इन्टरनेट चलाउँदा सरर चल्ने र गेमहरू खेल्न सहज हुनेछ। भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडिओ स्ट्रिमिङ, मल्टी-डिभाइस भिडिओ स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता कुराका लागि यसले कम्पनीलाई तयार राख्नेछ।
यो नयाँ सेवा कसले कुन-कुन क्षेत्रमा प्रयोग गर्नेछन् भनेर हेर्नै बाँकी छ। हाल केही विज्ञापन एजेन्सीहरूले प्रयोग गरिरहेका छन्।
२. नेपालमा इन्टरनेट प्रदायक कम्पनी धेरै छैनन्। बजार पनि सानै छ। भायानेटले यो बजारमा कसरी काम गरिरहेको छ?
सन् १९९९ मा 'डाइल-अप इन्टरनेट' को सुविधा दिएर कम्पनी स्थापना भएको थियो। त्यस बेला नेपाल टेलिकमले लिज-लाइन दिन्थ्यो। त्यसलाई कम्प्युटरको मोडेममा जोडेर टेलिफोनको तारमार्फत इन्टरनेट जोडिन्थ्यो। यसो हुँदा फोन र इन्टरनेटमध्ये एउटा मात्रै चल्थ्यो।
सन् २००३/०४ तिर वायरलेस प्रविधि सुरू गर्यौं। करिब चार वर्ष यो प्रविधिमार्फत इन्टरनेट दियौं। त्यस बेला मानिसहरू इमेलका लागि इन्टरनेट प्रयोग गर्थे। बढीजसो व्यावसायिक प्रयोजनका लागि मात्रै प्रयोग हुन्थ्यो। सन् २००६ सालदेखि विभिन्न सामाजिक सञ्जालहरूको प्रयोग बढ्न थाल्यो। हातहातमा मोबाइल फोन पुग्न सुरू भएपछि इन्टरनेट प्रयोग बढ्न थाल्यो।
वायरलेस प्रविधिमार्फत इन्टरनेट प्रदान गर्दा विभिन्न समयमा अवरोध हुन्थ्यो। ग्राहकले यसबाट राम्रो सुविधा पाउन सकिरहेका थिएनन्। त्यसपछि हामीले पहिलोपटक नेपालमा फाइबर अप्टिकल प्रविधि सुरू गर्यौं। यसरी हामी ग्राहकको माग र समयअनुसार आफ्नो सेवा विस्तार गरिरहेका छौं।
३. प्रतिस्पर्धी बजारमा टिकिरहन भायानेटका रणनीति के हुन्? ग्राहकले भायानेट किन चलाउने?
नेपालमा अहिले १३५ भन्दा बढी इन्टरनेट सेवा प्रदायक दर्ता भएका छन्। तर सेवा विस्तार गर्ने कमै कम्पनीमध्ये भायानेट पनि पर्छ। भायानेटको प्रविधिसंगत छ। हामी सेवा र ग्राहक केन्द्रित कम्पनी हौं।
बजार विस्तार गर्न र ग्राहक टिकाइराख्न सबभन्दा ठूलो भूमिका ग्राहक सेवाले खेलिरहेको हुन्छ। हामी ग्राहक सेवामा कुनै कमी राख्दैनौं। विभिन्न समय नयाँनयाँ अफर पनि प्रदान गरिरहेका हुन्छौं। अहिले हामी २० एमबिपिएसदेखि दुई जिबिपिएस एक्सजिएस एक्सट्रिम प्याकेजसम्म प्रदान गर्दैछौं।
इन्टरनेटसँगै हामीले सन् २०१६ देखि आइपिटिभीको सुविधा दिइरहेका छौं। यसमा १७५ भन्दा बढी च्यानल हेर्न सकिन्छ। टिभी पज (रोक्न) र जहाँ पज गरिएको हो, त्यहीँबाट पुनः प्ले (चलाउन) सकिन्छ। हामीले टिभी र इन्टरनेटको प्याकेज बनाएर पनि ग्राहकलाई दिइरहेका छौं।
भायानेटको ग्राहक सेवासँगै इन्टरनेट र टिभी सेवा गुणस्तरीय छ।
४. भायानेटको इन्टरनेट अहिलेसम्म कति जिल्लामा पुग्यो? काठमाडौं बाहिर सहजै फैलिन केले रोकेको हो?
हामीले आफ्नो पहुँच भएसम्मका ठाउँमा सेवा दिइरहेका छौं। भायानेटको सेवा सातै प्रदेशमा पुगेको छ। अहिले करिब ४२ जिल्लामा इन्टरनेट विस्तार भएको छ।
काठमाडौं उपत्यकामा धेरैजसो ८० एमबिपिएसदेखि ३०० एमबिपिएसको प्याकेज लिने ग्राहक धेरै छन्। उपत्यकाबाहिर भने ५० एमबिपिएसदेखि १०० एमबिपिएसको बढी बिक्री भइरहेको छ।
झट्ट हेर्दा लामो समय भइसक्दा पनि देशको हरेक कुनामा नपुगेको भन्ने देखिन्छ। तर जहाँ माग र पूर्वाधार विकास भएका छन्, तिनै क्षेत्रमा पुग्ने हो। गाउँघरमा नेटवर्क स्थापना गर्न पनि मुश्किल छ। मुश्किलका बाबजुद वार्षिक रूपमा नयाँ ठाउँमा आफ्नो सेवा विस्तार गर्ने योजनाअनुसार चलिरहेका छौं।
५. शुल्क भुक्तानी प्रणालीमा पहिले र अहिले के फरक देखिएको छ?
ग्राहकले भायानेटको आउटलेटमै पुगेर वा घरैबाट भुक्तानी गर्न सक्छन्। कोरोना महामारी अघिसम्म धेरैजसो आउटलेटबाटै भुक्तानी हुन्थ्यो। महामारीपछि अनलाइन भुक्तानी बढेको छ। करिब ७० प्रतिशत ग्राहकले अहिले अनलाइन भुक्तानी नै गर्छन्। महामारी अघिसम्म यो संख्या जम्मा २५ देखि ३० प्रतिशत थियो। त्यसैगरी उपत्यका बाहिरी जिल्लामा पनि अनलाइन भुक्तानी बढ्दो छ।
भुक्तानी अनलाइन गर्न मिल्ने र कुनै समस्या भए भायानेट घरमै पुग्ने भएपछि आउटलेटमा अचेल ग्राहकको चाप निकै कम छ। उपत्यकामा भायानेटको करिब ८ वटा आउटलेट छन्।
६. भायानेट टिभीबारे धेरैलाई जानकारी नभएजस्तो देखिएको छ नि?
भायानेट टिभीले राम्रो प्रतिक्रिया पाइरहेको छ। हामीले दिने भनेको आइपिटिभी हो। यो इन्टरनेट प्रदायकले मात्रै दिइरहेका छन्। त्यसैले इन्टरनेट प्रयोगकर्तामाझ आइपिटिपी प्रख्यात छ। इन्टरनेटको ग्राहक बढेसँगै आइपिटिभीबारे ज्ञान हुनेछ।
पछिल्लो तथ्यांकअनुसार अहिले ३७.८ परिवारमा इन्टरनेट प्रयोग भएको देखिन्छ। भविष्यमा आइपिटिभीको बजार राम्रो छ। अहिले समग्रमा चारदेखि पाँच लाख परिवारले आइपिटिभी प्रयोग गरिरहेका छन्।
७. ग्राहकको डेटा सुरक्षाका लागि भायानेटले के-कस्ता प्रविधि प्रयोग गर्दैछ?
अहिले जल्दोबल्दो विषय नै डेटा सुरक्षाको छ। २०७६ सालको अन्तिमतिर हाम्रो डेटा बेस ह्याक भएको थियो। त्यो पहिलो र अन्तिम पटक हो। उक्त समय हाम्रा प्रयोगकर्ताका व्यक्तिगत विवरण सार्वजनिक भएको थियो। डेटा सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुँदाहुँदै त्यस बेला अप्रिय घटना भयो। तर त्यस बेलादेखि हामी थप सतर्क पनि भएका छौं।
अहिले हाम्रो छुट्टै प्राविधिक लेखापरीक्षण टोली छ जसले समग्र सञ्चालन लगायतका काम हेरिरहेको छ। कुनै पनि नयाँ अफर वा प्रडक्ट सार्वजनिक गर्दा त्यसका सुरक्षाको हिसाबमा कुनै कमी रहन दिँदैनौं। गहिरो स्तरमा अध्ययन भएर मात्रै सार्वजनिक गरिन्छ।
पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिकरणले पनि साइबर सुरक्षामा कडा नियमावली तयार पारेको छ जुन पहिले थिएन। प्राधिकरणसँग हाम्रो (सेवा प्रदायकहरू) भेटवार्ता भइरहन्छ। कारबाही गर्न आवश्यक सम्बन्धित विषयमा छलफल गरी आफ्नो भनाइ राखिरहेका हुन्छौं।
८. कम्पनीले दाबी गरिरहे पनि कतिपय ग्राहकले भायानेटको इन्टरनेट गति र सर्भिसिङमा गुनासो गरिरहेका हुन्छन्। यिनलाई सम्बोधन कसरी गर्ने योजना छ?
हामीले ग्राहकको सुविधाका लागि कल सेन्टर स्थापना गरेका छौं। यो २४ सै घन्टा सञ्चालन हुन्छ। त्यस्तै आवश्यक परे घरै गएर सेवा दिन्छौं। जतिसक्दो ग्राहक सेवालाई गुणस्तरीय बनाउने हाम्रो योजना हो।
इन्टरनेट भनेको वेबसाइटहरूको सञ्जाल हो। कैयौं एप्लिकेसनहरू चलिरहेका हुन्छन्। ग्राहकले कुनै पनि कन्टेन्ट कुन वेबसाइटबाट हेर्दै हुनुहुन्छ, त्यसको होस्ट कस्तो छ लगायत विषयले इन्टरनेटको गतिमा फरक पार्छ।
त्यस्तै कतिपय समय ग्राहक र कल सेन्टर प्रतिनिधिबीच राम्ररी कुरा नहुँदा पनि समस्या आइरहेको हुन्छ। कतिपय नेपालीमा डिजिटल साक्षरताको कमी छ। हामीले भन्न खोजिरहेको कुरा नबुझ्ने समस्या हुन्छ। जस्तै कतिपयलाई एउटै राउटर लामो समय चल्छ भन्ने लाग्छ। त्यस्तो हुँदैन। समय-समयमा उपकरण फेर्नुपर्ने हुन्छ। यिनै कारणले पनि अझै केही गुनासो आइरहेको हुन सक्छ।
यी विषय सम्बोधन गर्न भायानेटको तर्फबाट आवश्यक काम हुँदैछ। ग्राहकलाई गुणस्तरीय सेवा दिनु नै कम्पनीको प्रतिबद्धता हो।